अक्सनबाट छानिए ३७ खेलाडी

Manoj Shiama
10 August, 2025 12:10 pm

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट ८ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् ।

अक्सनमा ८ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका ४ खेलाडीलाई जनही  १५ लाख रुपैयाँमा खरिद गरिएको छ । 

दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमान्डु गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन चाहेकाले  ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो । 

यसै गरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमान्डु गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले   १० लाख रुपैयाँमा अनुबन्ध गरेको छ । 

यस्तै मयन यादवलाई जनकपुर वोल्टस् ७ लाख ७५ हजार रुपैयाँ मा तथा आकाश त्रिपाठीलाई काठमान्डु गोर्खाजले  ७ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यसै गरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दीपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही  ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । उत्तम थापा मगरलाई काठमाडौं गोर्खाजले  ३ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।  

यसै गरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेक तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमान्डु गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किङ्ग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही रु दुई लाखमा अनुबन्ध गरेको छ ।

एनपीएलको शनिवारको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम रु १० लाख र अधिकतम रु १५ लाख, ‘बी’ श्रेणीको न्यूनतम रु ५ लाख र अधिकतम रु १० लाख तथा ‘सी’ श्रेणीको न्यूनतम रु २ लाख र अधिकतम रु ५ लाख मूल्य राखिएको थियो । योसँगै आठ टोलीमा ८८  खेलाडी आबद्ध भएका छन् । प्रत्येक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब आठ वटै टोलीले कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।