काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी आए नेपाल

काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई बिहीबार नेपाल आइपुगेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको शनिबार हुने अक्सनलाई लक्ष्य गरेर मोन्टी काठमाडौं आएका हुन् ।
काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरी, काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोन्टीलाई स्वागत गरेका थिए । फेब्रुअरीमा नेपाली राष्ट्रिय टोलीमा आफ्नो दुई वर्षे कार्यकाल सकेर गएका मोन्टी ६ महिनापछि काठमाडौं आएका हुन् ।
मोन्टी २०२३ को फेब्रुअरी देखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए । यहि क्रममा नेपालले विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।
‘नेपालबाट कहिल्यै पनि म टाढा थिइन, त्यही भएर फेरि काठमाडौं आएको छु, यसपटक म फरक जिम्मेवारीका साथ आएको छु,’ मोन्टीले सञ्चारकर्मीस“ग भने, ‘गत वर्ष पनि म एनपीएलको सेरोफेरोमा रहेको थिए“, अहिले काठमान्डु गोर्खाजले प्रस्ताव गरेपछि आएको छु, म नया“ भूमिकामा काम गर्न निकै उत्साहित छु ।’
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजको प्रशिक्षण टोलीमा मोन्टी र वसन्तसहित टेक्निकल एनालिष्टमा सुरज शाक्य र फिजियोमा पुरन तिरुवा रहेका छन् । काठमान्डु गोर्खाजले एनपिएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ ।