पोर्चुगलबासी नेपालीले खोजेको कुशल नेतृत्व सुजन

संसार भर छरिएका बसेका नेपालीहरूको साझा समस्यालाई समाधान गर्ने सोच र उद्देश्यका साथ एनआरएनएको स्थापना भएको थियो । विदेशमा रहेका नेपालीहरूको साझा समस्याको समाधानमा उन्मुख हुने, नेपालको विकासमा सहयोग गर्ने र विदेशमा रहेका नेपालीलाई भावनात्मक, सृजनात्मक र सङ्गठनात्मक रूपले एकजुट बनाउने सोचका साथ स्थापित गैर आवासीय नेपाली सङ्घ अहिले संसारमा फैलिएका छन् । यसै बिच पोर्चुगलमा यसै संस्थाको निर्वाचन ६ जुलाईमा हुँदै छ ।
यस निर्वाचनमा सुजन लामा मोक्तान पनि अध्यक्ष पदका उम्मेदवार छन् । अध्ययनको सिलसिलामा ७ वर्ष अघि पोर्चुगल पुगेका लामा पर्यटन व्यवसाय र अटो मेकानिकल क्षेत्रमा संलग्न छन् । सन् २०२१ देखि २०२३ सम्म तामाङ सोसाइटी पोर्चृुगलको अध्यक्ष रहेका उनी सन् २०२३ देखि एनआरएनए पोर्चुगलका उपाध्यक्ष छन् । लामाले आफूलाई लायक ठहर गर्ने केही कारण पनि छन् ।
खासमा पोर्चुगल पुगे पछि धेरै नेपालीले भोग्ने साझा समस्या छन् । आप्रवासीको कागजात र प्रशासनिक व्यवस्था मूल पाटो हो । कार्यक्षेत्रमा आइ पर्ने प्रशासनिक झमेला अर्को समस्या हो । भाषागत कमजोरीका कारण आउने गरेको समस्या नेपालीले बारम्बार भोगेका छन् ।
सिप नभएका नेपालीहरूका थप समस्या पनि छन् । एनआरएनए पोर्चुगलको कानुनी वैधता अर्को समस्या हो । वैध प्रक्रिया पुरा गर्दै यसलाई मूलधारमा अडिछिन्न अघि बढाउने पहिलो जिम्मेवारी भएको उनको ठहर छ ।
समय सापेक्ष चल्ने क्रममा युवाहरूको प्रभाव बढी रहेको छ । हरेक दिन नयाँ सपना बोकेर युवाहरू आएका छन् । यस कारण पोर्चुगलमै खेलकुद लगायत युवाको चासोको विषयमा आफूलाई सरिक गराउने पनि उनको योजना हो ।
आप्रवासी समस्या समाधानका लागि र स्थानीय प्रशासनमा काम गर्न सहज होस् भन्नका खातिर भाषाको प्रशिक्षण पनि दिइने छ ।

नेपालीहरूलाई अपर्झट कसैको देहावसान हुँदा नेपालमा शव पठाउने लगायत अन्य अति आवस्यक काम अपर्झट पर्दा आर्थिक समस्या परेको विगत छ । यस कारण यहाँ रहेका नेपालीलाई अपर्झट कुनै समस्या आएमा समाधानलाई ध्यानमा राख्दै अक्षयकोषको स्थापना गर्ने सोच छ ।
मोक्तानका थप योजना नभएका होइनन् । एनआरएनए गैर नाफा मूलक संस्था हो । पोर्चुगलमा नेपालीलाई भावनात्मक तथा शैक्षिक रूपले एकजुट गराउनका लागि योजना बनाएर काम गर्ने उनको सोच छ । नेपालको संस्कृतिलाई पोर्चुगलमा चिनाउने तथा पर्यटन व्यवसायलाई एकमुस्ट रूपमा फैलाउने उनको योजना छ ।यसका लागि ६ जुलाईको निर्वाचनमा उनले सबैको सहयोगको अपेक्षा गरेका छन् ।
