आयोजक लुम्बिनी हाप्किडो राष्ट्रिय च्याम्पियन

Manoj Shiama
21 June, 2025 8:01 pm

१० औ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सकिएको छ । च्याम्पियनसिपमा आयोजक लुम्बिनी २१ स्वर्ण, १८ रजत तथा ३० कास्य पदक सहित पहिलो भएको छ । सुदूर पश्चिम प्रदेश ११  स्वर्ण, ९ रजत तथा २३ कास्य पदक सहित दोस्रो भयो । यसै गरी, कोसी प्रदेश ११ स्वर्ण, ४ रजत तथा १२ कास्य पदक सहित तेस्रो भयो । 

प्रतियोगितामा उत्कृष्ट रेफ्री पुरुष तर्फ विशाल थापा र महिला तर्फ रुपा बुढा मगर घोषित भए । पुरुषमा बागमतीका प्रशान्त श्रेष्ठ तथा महिलामा गण्डकीकी मेगमा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । 

अनुशासित खेलाडी महिलामा अंंकीता घर्ती मगर तथा पुरुषमा हर्क बहादुर विक घोषित भए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले पुरस्कार प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले विश्व र नेपालमा हाप्किडो खेलको विकास क्रमको चर्चा गर्दै नेपाली हाप्किडो कुशल नेतृत्वका कारण सफलता तर्फ अघि बढेको बताए । आचार्यले नेपालमा हाप्किडो खेलले छोटो समयमा नै महत्त्वपूर्ण सफलता पाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै नेपाल हाप्किडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरले ११ औ राष्ट्रिय च्याम्पियनसिप मधेस प्रदेशमा हुने घोषणा गरे । 

पुरस्कार वितरण समारोहमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य हिमाल श्रेष्ठ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सचिवालय सदस्य उदय अर्याल लगायतको उपस्थिति थियो ।