नेशनल हस्पिटल तथा हाप्किडो बिच सम्झौता

Manoj Shiama
6 May, 2025 2:38 pm

नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो सङ्घ बिच मंगलबार सम्झौता भएको छ । सम्झौता अनुसार हाप्किडो सङ्घमा आबद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्नेछन् । 

‘हाम्रो उद्देश्य केवल उपचार मात्र होइन, खेलकुद र शारीरिक सशक्तीकरणमा समर्पित संस्थाहरूसँग सहकार्य गरेर सामुदायिक स्वास्थ्यलाई अझ मजबुत बनाउने हो,’ नेपाल नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले हस्ताक्षर कार्यक्रममा भने । नेपाल हाप्किडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरले यस सहमतिलाई हाप्किडो खेलाडीहरूको स्वास्थ्य सुरक्षामा ‘एउटा ठुलो उपलब्धि’ को रूपमा व्याख्या गरे ।

 सम्झौता कार्यक्रममा अस्पतालका व्यवस्थापन पक्ष तथा हाप्किडो कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो । 

सम्झौता २३ वैशाख २०८२ देखि २२ वैशाख २०८४सम्म लागू हुनेछ ।