नेपाल प्रहरी नयाँ च्याम्पियन

नेपाल प्रहरीले आठौँ केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिवार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा प्रहरीले ६ पटकको उपाधि विजेता एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । प्रहरीले २५–१५, २५–२३ र २५–१६ स्कोर गर्दै उपाधि सुनिश्चित ग¥यो । प्रहरीकी कमला पुन ‘प्लेयर अफ म्याच’ घोषित भइन् । एपीएफ सुरुका पाँच संस्करण र सातौँ संस्करणको विजेता हो । छैटौँ संस्करणको उपाधि न्यु डायमन्डले जितेको थियो ।
प्रहरी अपराजित रहँदै च्याम्पियन बन्यो । उपाधि यात्रासम्म प्रहरीले कुनै पनि सेटको नतिजा प्रतिद्वन्द्वीलाई सुम्पेन । प्रहरीले लिगमा न्यु डायमन्डलाई २५–१४, २५–२२ र २५–१३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा प्रहरीले नेपाल आर्मीलाई २५–६, २५–२२ र २५–२३ ले हराउँदै एपीएफसंग उपाधि भेट पक्का गरेको थियो ।
त्यस्तै एपीएफले लिगमा आर्मी र एभरेस्ट भलिबल क्लबलाई समान ३–० को नतिजामा पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा एपीएफले न्यु डायमन्ड ३–१ ले पाखा लगाउँदै फाइनल पुगेको थियो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्डले तेस्रो स्थानमा चित्त बुझायो । न्यु डायमन्डले आर्मीलाई २५–१९, २५–१२ र १५–१८ ले पराजित ग¥यो । न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ बनिन् ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पहिलो पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, दोस्रो पुरस्कार मार्बल टेक्नोप्लास्ट प्रा.ली. र तेस्रो पुरस्कार नेपाल एसबीआई बैङ्क लिमिटेडले प्रायोजन गरेको छ ।
प्रहरीकी कामना विष्ट सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । कामनाले मुक्तिनाथ विकास बैङ्कद्वारा प्रायोजित ५० हजार नगद पुरस्कार पाइन् । कामनाले काठमाडौं÷बैंकक÷काठमाडौँको हवाई टिकट पनि हात पारिन् ।
विधागततर्फ स्काइकरमा एपीएफकी निरुता ठगुन्ना, ब्लकरमा प्रहरीकी पुनम चन्द, सेटरमा प्रहरीकी कमला पुन, लिबेरोमा प्रहरीकी शान्तिकला तामाङ, सर्भरमा एपीएफकी पूजा चौधरी र प्रशिक्षकमा प्रहरीका रुपेशकुमार विष्ट उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए । विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैङ्कले प्रायोजन गरेका हो । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कारको प्रायोजक नविल बैङ्क हो ।
सहभागी प्रत्येक खेलाडीको ५ लाखका दरले गरिएको विमामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सहयोग गरेको छ । प्रतियोगिता अवधिभरको खाजाको व्यवस्था टिप टपले व्यवस्थापन गरेको हो ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, मुख्य प्रायोजक केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । चार दिने प्रतियोगितामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।
प्रतियोगिताको अन्य सहयोगीहरूमा एभरेस्ट बैङ्क, ग्लोबल आईएमइ, माछापुच्छ्रे बैङ्क, कृषि विकास बैङ्क, गरिमा विकास बैङ्क, प्रभु बैङ्क, ज्योति विकास बैङ्क, फिट्नेस च्वाइस, बुद्ध एयर र गोकर्ण फोरेस्ट रहेका छन् ।