एपीएफ र आर्मी सेमिफाइनलमा

Manoj Shiama
24 April, 2025 10:56 pm

एपीएफ क्लब र नेपाल आर्मी आठौँ केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले एभरेस्ट भलिबल क्लबलाई २५–१९, २५–१५ र २५–१० को सोझो सेटमा पराजित ग¥यो । एपीएफकी पूजा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

समूह ‘ए’ कै अर्को लिगमा आर्मीले एभरेस्टलाई नै सीधा सेटमा २५–१६, २५–१८ र २५–१७ ले हरायो । आर्मीकी सोफिया पुन ‘प्लेयर अफ द म्याच’ बनिन् । ३ टोली रहेको यो समूहमा लगातार दोस्रो पराजयसँगै एभरेस्ट प्रतियोगिताबाट बाहिरिएको छ ।

एपीएफ लगातार दोस्रो जितसँगै समूह विजेताका रूपमा सेमिफाइनल पुगेको हो । एक खेल जितेको आर्मी समूह उपविजेताका हैसियतले सेमिफाइनल पुग्न सफल भयो ।

सेमिफाइनलमा आर्मीको भेट प्रहरीसँग हुनेछ भने अर्को सेमिफाइनलमा एपीएफले न्यु डायमन्ड विरुद्ध खेल्ने   छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिताको दुवै सेमिफाइनल शुक्रवार  हुनेछ ।