एपीएफ र प्रहरीको विजयी सुरुआत

Manoj Shiama
24 April, 2025 3:57 am


एपीएफ क्लब र नेपाल प्रहरीले आठौँ केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधवार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा साबिक विजेता एपीएफले नेपाल आर्मीलाई २५–२०, २५–१३ र २५–१६ को सोझो सेटमा हरायो । एपीएफ छ पटकको उपाधि विजेता हो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ को लिगमा प्रहरीले पूर्व विजेता न्यु डायमन्डलाई सीधा सेटमा २५–१४, २५–२२ र २५–१३ ले हरायो । पाँच टिम सहभागी प्रतियोगिताको समूह ‘बी’ दुई टिम मात्र रहेकाले प्रहरी विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । न्यु डायमन्ड पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो ।
प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेल आर्मी र एभरेस्ट भलिबल क्लबबिच बिहान ८ः०० बजे हुनेछ । दोस्रो खेलमा फेरि एभरेस्टले एपीएफ विरुद्ध अपराह्न ४ः०० बजे प्रतिस्पर्धा गर्ने छ ।
उद्घाटन अवसरमा अवसरमा उषा भण्डारीलाई ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ सहित ५० हजार नगदबाट सम्मान गरिएको थियो । विदेशमा रहेकाले उषाको सम्मान आमाबुवाले ग्रहण गरे । भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई पनि नगद ५० हजारसहित सम्मान गरियो । उनीहरूलाई सदस्य–सचिव घिसिङ, प्रतिष्ठानकी संरक्षक गमली खड्का र प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान गरे ।


विजेताले नगद ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । पहिलो पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, दोस्रो पुरस्कार मार्बल टेक्नोप्लास्ट प्रा.ली. र तेस्रो पुरस्कार नेपाल एसबीआई बैङ्क लिमिटेडले प्रायोजन गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मुक्तिनाथ विकास बैङ्क तथा विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैङ्कले प्रायोजन गरेका छन् । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यो पुरस्कारमा नविल बैङ्कको सहयोग रहने छ । सहभागी प्रत्येक खेलाडीको ५ लाखका दरले गरिएको बिमामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सहयोग गरेको छ । प्रतियोगिता अवधिभरको खाजाको व्यवस्था टिप टपले व्यवस्थापन गरेको छ ।
अन्य सहयोगीहरूमा एभरेस्ट बैङ्क, ग्लोबल आईएमइ, माछापुच्छ्रे बैङ्क, कृषि विकास बैङ्क, गरिमा विकास बैङ्क, प्रभु बैङ्क, ज्योति विकास बैङ्क, फिट्नेस च्वाइस, बुद्ध एयर र गोकर्ण फोरेस्ट रहेका छन् । फाइनल शनिवार हुनेछ ।