राष्ट्रिय  चेस च्याम्पियनसिप शनिवारदेखि 

नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा राष्ट्रिय चेस च्याम्पियनसिप शनिवार सुरु हुने भएको छ । आयोजकले बिहीबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता १९ देखि २४ जेठसम्म आयोजना हुने जानकारी गराएको हो ।   

काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा २४ औँ  खुल्ला  र नवौँ  महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा १२ जना खेलाडी सहभागी हुनेछन् । 

यस प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न भएको राष्ट्रिय बी च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९ जना खेलाडी छनोट भएका थिए । छनोट हुनेमा पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ,  ललितपुरका सुरोज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौँका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजीव कार्की र काठमाडौँका सुश्रुत दाहाल छन् । 

त्यस्तै महिलातर्फ झापाकी कृति सारा अधिकारी, काठमाडौँकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौँकी विनीता कपाली, भक्तपुरकी अंशु दिल प्रजापति, झापाकी पुनम प्रसाईँ, भक्तपुरकी श्रेया दुवाल र सविना गुज रहेका छन् । 

त्यसै गरी २३ औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेता रुपेश जैशवाल, उप विजेता क्षितिज भण्डारी र सुरवीर लामा तथा सातौँ राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत महिलातर्फका विजेता फिडे मास्टर सुजना लोहनी, उप विजेता सुशीला गुरुङ र शान्ति धिमालले पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

सुरवीर लामा थाइल्यान्ड र सुजना लोहनी हाल अस्ट्रेलियामा रहेको कारण उनीहरूको स्थानमा वैकल्पिक खेलाडीको रूपमा खुल्लातर्फ सुशील चौधरी र प्रसन्न किवनायोले खेल्ने आयोजकले जनाएको छ । 

यस प्रतियोगिताको विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनसिप तथा कन्टिनेन्टलमा सहभागिता जनाउन पाउने छन् । त्यसै गरी यसै प्रतियोगिताबाट २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औँ चेस ओलम्पियाडको लागि पुरुषतर्फ तीन र महिलातर्फ ४ गरी नेपालको तर्फबाट उत्कृष्ट ७ जना खेलाडी छनोट हुनेछन् । 

नेपाल बुद्धिचाल महासङ्घका अनुसार चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला र पुरुष दुवैतर्फ समान ५र५ जना खेलाडी सहभागी हुनेछन् । जसमा उच्च रेटेड खेलाडी खुल्लामा विवेक लामा र  महिलामा सुजना लोहनी तथा फिडे मास्टर रुपेश जैशवाल २३ औँ राष्ट्रिय प्रतियोगिताको विजेताका रूपमा छनोट भइसकेका छन् ।  

प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २५ औँ  खुल्ला तथा  दसौँ  महिला राष्ट्रिय  च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले राष्ट्रिय बी मा प्रतिस्पर्धा गर्न पाउने छन् । यस च्याम्पियनसिपको अनुमानित खर्च १३ लाख ५०  हजार रहेको छ ।

च्याम्पियनसिपको मुख्य प्रायोजन दिव्यांश मल्टी प्रोडक्सनले गर्नेछ भने सह प्रायोजकमा रुक्मिणी टुर्स एन्ड ट्राभल्स रहेको छ । यस्तै प्रायोजकमा नेपाल टेलिकम, वर्ल्ड लिङ्क कम्युनिकेसन र प्रभु बैङ्क रहेको लुम्बिनी इभेन्ट म्यानेजमेन्टका अध्यक्ष सुबोधराज सेर्पालीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । अध्यक्ष सेर्पालीले मुख्य प्रायोजक र प्रायोजकहरू प्राय सबै गत संस्करणकै भएको प्रस्ट पारेका थिए । प्रतियोगिताको गत संस्करण पनि होटेल ले हिमालयमै सञ्चालन भएको थियो । 

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले ओलम्पियाडमा सहभागी हुने खेलाडीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाइने बताएका छन् । विगतको संस्करणमा नेपाली खेलाडी ओलम्पियाडको पदक नजिक पुगे पनि पदकबाट भने वञ्चित रहँदै आएको स्मरण गर्दै अध्यक्ष महर्जनले यो पटक नेपाली खेलाडीले ओलम्पियाडमा उपाधि जित्ने गरी तयारी गर्ने बताए । त्यसका लागि महासङ्घले खेलाडीलाई प्रशिक्षण लगायत आवश्यक सहयोग गर्ने समेत महर्जनले खुलासा गरे । कार्यक्रमको सञ्चालन महासङ्घका सदस्य राजु ताम्राकारले गरेका थिए ।

Comment