खेलकुदकर्मी प्रधानद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी


नेपाल पौडी सङ्घका केन्द्रीय सदस्य उमेश प्रधान चैत्र ९ र १० गते हुने उद्योग व्यापारीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घ, सिन्धुपाल्चोकको ११ औँ अधिवेशनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
पौडीका खेलाडी समेत रहेका प्रधान विगत लामो समयदेखि उद्योग वाणिज्यमा संलग्न रहँदै आएका छन् । बलेफी गाउँपालिका – ८, लामो साँघुका स्थानीय बासिन्दा प्रधानले नेपाल चिन व्यापारलाई आफ्नो व्यापारिक क्षेत्र बनाउँदै सिन्धुपाल्चोक क्षेत्रलाई कर्मथलोको रूपमा चुनेका छन् । उद्योग व्यवसायीहरूको हक हित र कमी कमजोरीलाई सुधार गर्न आफू सशक्त रूपमा प्रस्तुत हुने प्रधानले बताएका छन् । साना देखि ठुला व्यवसायीहरू अट्ने उद्योग वाणिज्य सङ्घ बनाउन आफ्नो उम्मेदवारी रहेको प्रधानले बताए ।
हाल उनी खेलकुद क्षेत्रमा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् । नेपाल पौडी सङ्घका केन्द्रीय सदस्य रहेका प्रधान नेपाली काँग्रेस निकट भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका सदस्य, यूथ स्पोर्टस् क्लब, लामो साँघु, जिल्ला पौडी सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष, अखिल नेपाल फुटबल सङ्घ, अनुशासन समितिका सदस्य समेत रहेका छन् ।
युवा व्यवसायी तथा समाजसेवी प्रधान उद्योग व्यवसायी बिच निकै नै लोकप्रिय व्यक्तित्वको रूपमा रहेका छन् । ९ औँ अधिवेशन मार्फत उद्योग वाणिज्य सङ्घ, सिन्धुपाल्चोकको कार्यसमिति सदस्यमा निर्वाचित प्रधान १० औँ अधिवेशनमा कोषाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी वहन गर्न अग्रसर भएका छन् ।

Comment