कोटेश्वरका इमोनलाई स्वर्ण

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङकका इमोन राणाले प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् ।

पुरुष ३८ केजीमुनि फाइनलमा इमोनले नेपलिज तेक्वान्दो एकेडेमी (एनटीए) का भिजन तामाङलाई पराजित  गरे । बाल गीताञ्जलीका प्रवीण श्रेष्ठ र कोटेश्वरका राकेश सुनार तेस्रो भए ।

योङ स्टार ग्रुप सह–आयोजक रहेको प्रतियोगिताको पुरुष २२ केजीमुनि सिन्धुपाल्चोकका कुशल नेपाली, २५ केजीमुनि मध्यपुरका समुन्द्र गिरी, २८ केजीमुनि क्षेत्र पालका अभिनव बोहरा र ३४ केजीमुनि क्षेत्र पालकै निर्मल पाण्डे पहिलो भए । 

महिला २२ केजीमुनि सुन्दरीमाइकी पुनम घिमिरे, २० केजीमुनि चन्द्रागिरिकी रेया बोहरा, २५ केजीमुनि कोटेश्वरकी हृदयानी बस्नेत र २८ केजीमुनि चन्द्रागिरिकी युकी तामाङले पहिलो स्थान हात पारे ।

एकल पुम्सेअन्तर्गत यु–१७ को पुरुषमा चन्द्रागिरिका सुजल कार्की र महिलामा चन्द्रागिरिकी सुविना तामाङ तथा १७ वर्षमाथि पुरुषमा जगतबहादुरका सुदीप परियार र महिलामा कोटेश्वरकी सन्ध्या लामाले स्वर्ण चुमे ।

पहिलो दिनका पदक विजेतालाई पूर्व सांसद सीता लामा, नवौँ दक्षिण एसियाली खेलकुदका स्वर्णधारी निर्मल श्रेष्ठ र नीराजन श्रेष्ठ, ऊर्जा मन्त्रालयका उपसचिव राम गोपाल लगेजुलगायतले पुरस्कृत गरे । आयोजकका अनुसार प्रतियोगितामा ६ सय भन्दा बढी खेलाडी सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Comment