कबड्डी फ्रेन्चाइज लिगको तयारी तीव्र

नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको प्रचलन बढी रहेको समयमा कबड्डीको पनि फ्रेन्चाइज लिग हुने भएको छ । यसका लागि नेपाल कबड्डी संघले काम अघि बढाइ सकेको छ । खेलाडी दर्ताको प्रक्रिया पनि सुरु भई सकेको छ । 

लिगमा लागि संघले एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्टसँग लिग आयोजनाका लागि सम्झौता गरेको छ । एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष अमित बेगानीले यस व्यावसायिक लिगले नेपाली कबड्डीमा नयाँ उत्साह थपिने विश्वास व्यक्त गरे । नेपाल कबड्डी लिग एनकेएल नामबाट हुने उक्त प्रतियोगिता आगामी जुलाईमा गर्ने योजना रहेको कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

भारतपछि नेपाल विश्वकै कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्ने दोस्रो राष्ट्र हुने छ । एक वर्षदेखि यसका लागि विभिन्न चरणमा छलफल भएकोले अहिले औपचारिक रूपमा सम्झौता दिएर यसलाई सार्वजनिक गरिएको महासचिव झाले बताए । 

यसको लगत्तै महिलाको लिगका लागि पनि अर्को कम्पनीसँग छलफल भइरहेको झाले जानकारी दिए । लिगमा विदेशी खेलाडीहरू समेत समावेश हुनेछन् र पहिलो संस्करणमा करिब ६ टिम समावेश गर्ने तयारी छ ।

लिगमा लागि विदेशी खेलाडी समेत अनुबन्धको क्रम सुरु भई सकेको छ । यस वर्ष कबड्डी संघले चार खेलाडी सिफारिस गरेकोमा घनश्याम मगर हरियाना स्टिलर्समा अनुबन्ध भएका थिए र उनले एक खेलसमेत खेलेको महासचिव झाले जानकारी दिए ।

संघले कबड्डी लिग आयोजनाका लागि एस्ट्रोनिक्ससँग १० वर्षको सम्झौता गरेको महासचिव झाले जानकारी दिए । एस्ट्रोनिक्सले लिगको आयोजना बापत नेपाल कबड्डी सङ्घलाई वार्षिक १५ लाख दिने छ । 

लिग बाहेक राष्ट्रिय टिमको खेल हुँदा पनि एस्ट्रोनिक्सले १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । यस्तै कबड्डी लिगमा लागि संघले प्रो कबड्डीमा काम गरेका ई प्रसाद रावलाई नै प्राविधिक निर्देशक नियुक्त गरेको छ । ‘प्रो कबड्डीलाई यो स्तरमा ल्याउन उहाँले ठुलो भूमिका खेल्नुभएको छ । त्यसैले नेपालमा पनि लिगका लागि हामीले रावलाई नै प्राविधिक निर्देशकको रूपमा अनुबन्ध गरेका छौँ’, झाले भने ।

नेपालमा पनि कबड्डी हिमाल पहाड तराई सबै ठाउँमा खेलिने खेल भएको र यसमा लाखौँ खेलाडी रहेको झाले बताए ।

नेपाली कबड्डीका लागि  पछिल्लो समय स्वर्णिम युगको रूपमा स्थापित भएको  छ । गत एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कास्य पदक समेत जितेको थियो । 

Comment