बास्केटबलमा गुरुङ निर्विरोध


नेपाल बास्केटबल संघको पाँचौं चुनावी साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजुले उपाध्यक्ष, नरेन्द्र थापाले महासचिव, फनिन्द्रमान श्रेष्ठले सचिव तथा विष्णुहरि त्रिपाठीले कोषाध्यक्षको जिम्मेवारी पाए । पवनकुमार थापा, सरोजा कोइराला (श्रेष्ठ), बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Comment