पोखराको यात्रामा नवीन शैली

पोखरा थन्डर्स दोस्रो एनएसएलको लिग चरणमा पहिलो स्थान हात पार्दै प्ले अफमा प्रवेश गरेको छ । जुन समय अक्सन सकिएको थियो, त्यसै समयमा धेरैले पोखरालाई यसका लागि योग्य नठानेका हुन सक्छन् । धेरै औसत खेलाडी थिए, पोखराको टोलीमा ।

प्रशिक्षक नवीन न्यौपानेको सोचमा पनि त्यस समयमा चुनौतीपूर्ण थियो । बिस्तारै मैत्रीपूर्ण खेल खेल्ने क्रममा पोखराले आफूलाई सुधार गरेको थियो । 

नवीनको आँखा गत  सिजन चर्च ब्वाइजबाट ए डिभिजन खेलेका प्रीजो, र क्युटोमा परेको थियो । घानाका जोय र मोसेस पनि टोलीमा आबद्ध गराइए । यी सबै खेलाडीले आफ्नो औचित्य पुष्टि गरे । 

यसै बिच अस्ट्रेलियामा रहेका दिनेश राजवंशी पनि प्रशिक्षणका लागि काठमाडौं झिकाइए  । कम अनुभवी  एन्जल महर्जन र पदम भट्टराई माथि नवीनले नयाँ प्रयोग गरे । यो यात्रा धेरै चुनौतीपूर्ण थियो । 

पहिलो सिजन पनि नवीनले पोखरा सम्हालेका थिए । सो सिजनमा आफ्नो व्यक्तिगत कारण र तनावका बिचमा रहेका उनलाई राजेश शाहीले सहयोग गरेका थिए । तीनै सहयोगी र मिलनसार राजेशको सहयोगमा नवीनले आफ्नो जीवनमा आएको समस्यासँग जुधी रहेका थिए भने टोली सम्हाल्न पनि राजेशले साथ दिएका थिए । 

यस सिजन नवीनका लागि आफूलाई नेपालमा भर्खरै विकसित फ्रेन्चाइजमा पुष्टि गर्ने नयाँ अवसर थियो । आर्मी क्लबलाई धेरै उपाधि दिलाएका उनी यस स्वरूपमा पनि छाइ सकेका छन् । उनको यस पटकको यात्रामा खेलाडीहरू आयुष घलान, सञ्जीव विष्ट , दीपेश आलेले पनि प्रशिक्षकले गरेको विश्वासलाई पुष्टि गरे । 

सुरुमा नेपालको राष्ट्रिय टोली, र इलाम एफसीसँगको मैत्रीपूर्ण खेलमा हारेको पोखराले झापासँगको मैत्रीपूर्ण खेलमा बराबरी गरेको थियो । हरेक खेलमा भएका कमजोरी औल्याउदै सुधार गर्न नवीन सफल रहे । 

उनले आफ्नो योग्यता र क्षमता पुष्टि गर्ने नयाँ अवसरको रूपमा एन्फा एकेडेमीको प्रमुखको रूपमा पनि पाएका छन् । मार्केटिङको कुरूप नेपाली स्वरूपमा बिलकुल रची नभएका र नितान्त आफ्नै कर्ममा रमाउने उनको शैली कुनै पनि  टोलीका एक पछि अर्को उपलब्धिका कारण बनेका छन् । 

अबको धोको नेपाली फुटबल एकेडेमीलाई प्रयोग गर्दै एउटा नयाँ आयाम दिने हो । ‘ कर्म गर्दै जाने हो । समय अनुसार केही राम्रो काम उपलब्धि एकेडेमीले पनि सायद दिने छ,’ नवीनको विश्वास छ ।  

तस्बिर श्रोत ः पोखरा थन्डर्सको फेसबुक पेज

Comment