बुढानीलकण्ठको विजय यात्रा जारी

दोस्रो एनएसएल यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको शनिवार भएको खेलमा आयोजक समृद्धिलाई टाइम्सले ९०–४९ ले हराएको छ । समृद्धिका सुरजले सर्वाधिक २५ स्कोर गरे । पहिलो क्वार्टर देखि प्रभावशाली देखिएको टाइम्सले सुरुका दुई क्वार्टरमा २९–१७ र २६ –७ को अग्रता लिएको थियो । टाइम्सका अधुले सर्वाधिक १८ स्कोर गरे । 

अर्को खेलमा आइएसएले ट्रिनीटीलाई ७६–४७ ले हरायो । आइएसएले पनि पहिलो क्वार्टरमा नै २६–५ को अग्रता लिएको थियो । आइएसएका विवेकले सर्वाधिक ४० स्कोर गरे । 

जीजीआइसीले रोयललाई ८५–६७ ले हरायो । जीजीआइसीले पनि पहिलो क्वार्टरमा २६–१२ को अग्रता लिएको थियो । रोयलका शुभमले २६ तथा जीजीआइसीका उर्गेनले सर्वाधिक २० स्कोर गरे । 

स्नो ल्यान्डले एन्जल हार्टलाई ८१–७१ ले हरायो । पहिलो क्वार्टरमा एन्जल हार्टले १३–९ को अग्रता लिएको थियो । मध्यान्तरसम्म दुवै टोलीको २६ अङ्क थियो । तेस्रो क्वार्टरमा एन्जल हार्टले २१ तथा स्नो ल्यान्डले २५ स्कोर गरे । अन्तिम क्वार्टरमा स्नो ल्यान्डले ३१–२४ को अग्रता लियो । 

ग्रीनफिल्ड र ह्वाइट हाउस बिचको खेलमा ग्रिन फिल्ड ८६–७३ ले विजयी भयो । मध्यान्तरसम्म ह्वाइटहाउस ४२–३९ ले अघि थियो । बुढानीलकण्ठले योदा बास्केटबल क्लबलाई ७४–४२ ले हरायो । बुढानीलकण्ठले मध्यान्तरसम्म २९–१८ को अग्रता लिएको थियो । विजयी टोलीका प्रसून मल्ल ठकुरीले सर्वाधिक १९ स्कोर गरे । 

अर्को खेलमा सीसीआरसीले टाइम आउटलाई ८५–६७ ले हरायो । पहिलो क्वार्टर १६–१६ को बराबरीमा सकिएको सो खेलमा दोस्रो क्वार्टरमा सिसिआरसीले ३५–१४ को अग्रता लिएको थियो । सो अन्त्र नै सीसीआरसीको जितको मुख्य आधार बनेको थियो । विजयी टोलीका प्रनिस तिमल्सीनाले सर्वाधिक २६ स्कोर गरे । 

विजयी सबै टोली क्वार्टर फाइनल प्रवेश गरेका छन् । कीर्तिपुर बास्केटबल क्लब पनि भ्याली पब्लिक स्कुललाई १००–४९ ले हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको छ । कीर्तिपुरका आशिष महर्जनले सर्वाधिक ३१ स्कोर गरे । 

Comment