ढोरपाटनमा सेमिनार सम्पन्न

 गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो सङ्घको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार–२०२३’ सम्पन्न भएको छ । शुक्रवारबाट सुरु भएको सेमिनारको सङ्घीय सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले सेमिनारले खेलाडीहरूमा खेल क्षेत्रमा लाग्न हौसला प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ‘बागलुङको पर्यटकीय तथा ऐतिहासिक स्थल ढोरपाटनमा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद छ । यसले खेलाडीको मानसिक, शारीरिक तथा स्वास्थ्यका हिसाबले सकारात्मक परिणाम ल्याउँछ ।’ उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । 

 कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जीत शेरचनले हाई अल्टीच्यूड तेक्वान्दो सेमिनारले खेलाडीहरूमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो सङ्घका अध्यक्ष नेपाल टेक्वान्दो महासङ्घका केन्द्रीय महासचिव घमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत, नेपाल टेक्वान्दो महासङ्घका वरिष्ठ उपाध्यक्ष वासुदेव भट्ट, गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो सङ्घका सदस्य विशाल बुढा लगायतले बोलेका थिए ।  सेमिनारमा मार्सल आर्ट्सका पावर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पेसल टेक्निक विभिन्न विद्याहरूमा सहजीकरण गरेको सङ्घका सचिव विशाल बुढा मगरले जानकारी दिए ।

 विभिन्न जिल्ला र प्रदेश बाट करिब ४०० खेलाडी को सहभागिता रहेको सेमिनारमा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दोका प्रमुख प्रशिक्षक फारम बहादुर महत र नेपाल आईटिएफ टेक्वान्दो महासङ्घका केन्द्रीय सदस्य तथा रेफ्रि सह–संयोजक आकाशचन्द्र घर्ती मगरले सहजीकरण गरेको आयोजकले जनाएको छ ।

Comment