ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार हुँदै

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार’ हुने भएको छ । गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो सङ्घको आयोजना र ढोरपाटन नगरपालिकाको सहयोगमा यही मङ्सिर ८ र ९ गते सेमिनार हुने भएको हो । सोमबार बागलुङमा पत्रकार सम्मेलन गरी सेमिनारको तयारी थालिएको जानकारी दिइएको हो । सेमिनारमा देशभरका खेलाडीको सहभागिता रहने आईटिएफ तेक्वान्दो सङ्घ गण्डकीका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगरले जानकारी दिए । ढोरपाटनको पर्यटन प्रवर्द्धनसँगै खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको वृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको विकासका लागि यहाँ सेमिनार आयोजना गरेको उपाध्यक्ष घर्ती मगरको भनाइ छ ।

सेमिनारमा विभिन्न प्रदेश तथा जिल्लाबाट करिब चार सय बढी खेलाडीको सहभागिता हुने सङ्घका सचिव प्रतीक घर्ती मगरले जानकारी दिए । कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउनका लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका केन्द्रीय महासचिव घमबहादुर थापा मगरको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको उहाँको भनाइ छ । मिडिया व्यवस्थापन उपसमिति संयोजकमा कविता घर्ती मगर, प्रतीक घर्ती मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, आकाशचन्द्र घर्ती मगरको संयोजकत्वमा अफिसियल तथा खेल सामाग्री व्यवस्थापन उपसमिति, जीवन पुनको संयोजकत्वमा होटेल व्यवस्थापन उपसमिति गठन गरिएको छ । खेल प्रदर्शनतर्फ फारमबहादुर महत, अतिथि व्यवस्थापनतर्फ शर्मिला महत, स्टेज तथा साउन्ड सिस्टम संयोजकतर्फ वसन्ती बुढा, खेलाडी व्यवस्थापनतर्फ दिनेश बुढा, यातायात व्यवस्थापनतर्फ विजय पुन, सुरक्षा व्यवस्थापनतर्फ तास्विन पुन, मेडिकल व्यवस्थापनमा केशव थापा र स्वयंसेवक व्यवस्थापन संयोजकको जिम्मेवारी हर्क पुनलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रम सङ्घीय सांसद तथा प्रभु ग्रुपका अध्यक्ष साथै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सल्लाहकार देवीप्रकाश भट्टचनले उद्घाटन गर्ने सचिव घर्ती मगरले बताए । पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ ।

Comment