धारा म्याराथन मङ्सिरमा

नवौँ धारा नेपालगन्ज म्याराथन आउँदो ९ मङ्सिर, २०८० शनिवार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौँ संस्करणको मिति तय गरेको हो । 

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिवार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष ९ गते शनिवार हुनेछ । 

दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मङ्सिरमा नेपालगन्जको बिपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ । 

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौँ धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । 

नेपालगन्ज म्याराथनको वेबसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यस वर्ष अघिल्लो वर्षमा चार विधा थप गरी बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुल स्तरीयमा बाह्य जिल्ला र स्कुल स्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष÷महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राई साइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुल स्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसै गरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।  

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यावसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । 

यस वर्ष केही विधामा नगद पुरस्कार राशिमा वृद्धि गरिनेछ । केही सर्प्राइज प्याकेज पनि घोषणा गरिनेछ । 

नेपालगन्ज म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।  एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसै गरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौँमा सेनाका भिमबहादुर साउद, छैटौँमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौँमा एपीएफकै किरणसिंह बोगटी र आठौँमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौँ र आठौँ संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसै गरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौँमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने, छैटौँमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

Comment