युवा खेलाडीको सफलताको रेखा कोर्दै गौतम

‘टिन एज क्रस नगरेका’ क्षितिज खनाल, रोशन साउद, अमन महर्जन र देवराज राना । सबै एकसे एक । कम छैनन्, आरुष सिम्खडा,अरुण अधिकारी र प्रारम्भ सिम्खडा पनि । यी सबै खेलाडीलाई एउटा विश्वास छ, ‘अबको केही वर्षमा हाम्रो पुस्ता नेपाली ब्याडमिन्टनमा छाउने छ । कठायत ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण गरी रहेका यी चार खेलाडीलाई प्रशिक्षण गराइरहेका छन्,गौतम कठायतले । 

उमेरमा परिपक्व देखिँदैनन्, गौतम कठायत । ३० वर्षे नेटो पनि पार गरेका छैनन् । परन्तु ब्याडमिन्टनको प्राविधिक अध्ययनमा यी कोही भन्दा कम छैनन्, नेपालमा । प्रस्ट योजना छ । नियमित वर्क आउट छ, रुटिन र लक्ष्य छ । यस कारण त उनको खेलाडीले एकसे एक सफलता पाएका छन् । 

खेलाडी जीवनमा उनको थुप्रै सफलता छन् । एपीएफमा रहँदा उनले दीपेश धामीसँग मिलेर पुरुष युगलमा सानदार प्रदर्शन गरे । राष्ट्रव्यापी प्रदर्शनमा उनले सफलता पाएका थिए । सुनिल जोशीसँग उमेर समूहमा सफलता पाएका उनले जेसिका गुरुङसँग मिलेर मिश्रित युगलमा राष्ट्रव्यापी ब्याडमिन्टनमा सफलता पाइ सकेका थिए । 

पाँच वर्ष अघि प्रशिक्षणमा संलग्न उनको श्रेष्ठता पुष्टि गर्नका लागि क्षितिज, रोशन, अमन र देवराजको क्षमता र योग्यता नै काफी छ । परन्तु उनी यसमा सन्तुष्टि छैनन् । ‘एक दिन यिनले राष्ट्रिय च्याम्पियनको ताज पहिरिएको दिन नै मेरा लागि सन्तुष्टिको दिन हुने छ ,’ आफ्ना शिष्यका बारे गौतम भन्छन् । 

चीनमा आयोजना हुने १९ औ एसियाडको छनोटमा क्षितिज पाँचौँ स्थानमा रहे । क्षितिज यु–१७ र यु–१९ स्पर्धामा च्याम्पियन भइसकेका छन् भने केही समय अघि भएको कृष्ण मोहन स्मृति ब्याडमिन्टन प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेका थिए । त्यसो त देवराज पनि एकल स्पर्धामा सेमिफाइनल प्रवेश गरी सकेका छन् । उनले नेपालका नाम चलेका विष्णु कटुवाललाई हराए पछि आफू कुनै पनि खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्षम भएको आत्मविश्वास जागेको छ । उनी भन्छन्,‘केही समयको उत्कृष्ट वर्कआउटले उपाधिको बाटोमा जान सक्ने छु । उत्कृष्ट प्रशिक्षणका कारण म यो सक्छु भन्ने विश्वास जागेको छ ।’

रोशन साउद यु–१७ स्पर्धाका च्याम्पियन भई सकेका छन् । यु–१९ स्पर्धामा उनी क्षितिजसँग नै पराजित भएर उप विजेता भएका थिए । 

अन्य खेलाडीको झैँ रोशन पनि एकेडेमीमा केही समय रहे पछि उत्कृष्ट परिणाम पाउने कुरामा विश्वस्त छन् । 

राष्ट्रव्यापी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरी सकेका अमन पनि भविष्यमा स्टार खेलाडी हुने अपेक्षामा छन ।  टोखाका उनी यस एकेडेमीमा प्रवेश गरे पछि एडभान्स तहमा पुगेको बताउँछन् । नवलपुरका क्षितिजको त अर्कै कथन छ । हाइ जम्स र स्ट्रोक लेभलमा उत्कृष्ट उनका लागि राष्ट्रिय च्याम्पियन हुन केही वर्ष पनि नलाग्न सक्छ । 

एपीएफबाट खेल्ने गरेका देवराजको हकमा कृष्ण मोहन स्मृतिको सेमिफाइनलमा रुकेस महर्जन तथा प्रधानमन्त्री कपमा प्रफुल महर्जनसँगको खेलमा हारको सामान गरे पनि धेरै कुरा सिक्न सहयोग पुगेको छ । त्यसतै क्षितिजका लागि पनि एसियाली छनोट एउटा महत्त्वपूर्ण अवसर हो । ‘ यो अनुभवले पनि आगामी प्रतियोगिताका लागि सहयोग गर्ने छ,’क्षितिजको कथन छ । 

दुई पटक यु–१७ जितेका रोशन साउदका लागि क्षितिजसँगको यु–१९ फाइनल खेल पनि महत्त्वपूर्ण साबित भएको थियो । 

जहाँसम्म गौतमको सवाल छ, उनको यस लामो यात्रामा थुप्रै व्यक्ति प्रेरणाका श्रोत बने । कैलालीमै ब्याडमिन्टन सिकेका उनका लागि पशुपति पनेरु, राम सिंह चौधरी,इन्द्र मेहता र पङ्कज चन्द सबैबाट केही प्रेरणा मिलेको थियो । मेघराज कठायत त उनका लागि प्रेरणादायी व्यक्ति भई हाले । 

खेलाडीको रूपमा भारतको गुहावटीमा भएको दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिपमा रसिला महर्जनसँग मिलेर गरेको यु–२० को सेमिफाइनलसम्मको यात्रा त्यत्तिकै यादगार थियो । 

गौतमको यस अभियानमा १६ फेदर ब्याडमिन्टनका अध्यक्ष निरञ्जन सिम्खडाको भूमिका त महत्त्वपूर्ण छदै छ । साथै अहिले हल उपलब्ध गराउने फिटनेस ब्याडमिन्टन एकेडेमीका प्रमुख  अर्जुन खनालको भूमिका त छदै छ । महत्त्वपूर्ण समयमा अवसर दिलाउने एपीएफ क्लबको भूमिका पनि त्यत्तिकै छ । 

Comment