जो बनेका थिए पुनरागमन युगका नायक

८० को दशकको अन्त्य देखि सन् २००० को दशकसम्म नेपालको सान बनेको थियो, तेक्वान्दो खेल । त्यसै तेक्वान्दो खेल जब सन् २०१० को दशकबाट ओरालो यात्रामा लागेको थियो, त्यसमा पूर्णविराम लगाउँदै १३ औ सागमा फेरी उकालो बाटो तय गरेको थियो । त्यो बाटोका एउटा मुख्य नायक थिए, मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठ । 

नेपाली तेक्वान्दोमा कोटेश्वर डोजाङको आफ्नै स्थान छ । १३ औ दक्षिण एसियाली खेलकुदमा ५ स्वर्ण पदकको कथा मात्र होइन निर्मल श्रेष्ठ, निरञ्जन श्रेष्ठ र रञ्जन श्रेष्ठको नाममा विगतमा यस डोजाङले थुप्रै गर्व गर्न लायक नाम स्थापित गरेको थियो । 

त्यसै डोजाङका मुख्य प्रशिक्षक नवीन एउटा यस्तो व्यक्तित्व, जसले खेलाडीको रूपमा एसियाडमा सहभागिता जनाएको थियो । आफ्नै परिवारलाई तेक्वान्दोमा समर्पित गराउँदै तीन दाजु भाइ एसियाडमा सहभागी हुने कीर्तिमान कायम पनि गरेको थियो । मुख्य प्रशिक्षकको रूपमा आफ्नो खेललाई पुरानो साख फर्काउने प्रयास गरेको थियो । सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रि समेत भएका उनी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट रेफ्री हुन सफल पनि भए । 

नवीनको मुख्य परिचय भनौँ या गर्वका साथ नाम लिनै पर्ने मुख्य स्पर्धा भनेको काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुद हो । नवीनको मुख्य प्रशिक्षणमा तेक्वान्दोले २९ मध्यका १२ स्वर्ण पदक जितेको थियो । प्रशिक्षकको रूपमा उनको महत्त्वपूर्ण उपलब्धि सन् २००७ मा भियतनाममा भएको ओलम्पिक छनोट खेल हो । त्यसै छनोट चरण पार गर्दै दीपक विष्ट ओलम्पियन भएका थिए । 

सन् २००९ मा भएको कोरिया ओपन तेक्वान्दोमा नेपाली टोलीको जिम्मेवारी सम्हालेका नवीनले सन् २०१५ मा भएको छुनछेन कोरिया ओपनमा पनि टोलीको जिम्मेवारी सम्हालेका थिए । १२ औ दक्षिण एसियाली खेलकुदमा उनी ध्रुव गुरुङको नेतृत्वमा प्रशिक्षण टोलीमा समावेश थिए । क्यानडामा सन् २०१६ मा भएको विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिपमा उनी टोली व्यवस्थापक थिए । 

रेफ्रीको रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवको त उनीसँग लामो शृङ्खला नै छ । काठमाडौँमा भएको पहिलो माउन्ट एभरेस्ट आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सुरु भएको उनको यो यात्रा अनवरत रूपमा अघि बढेको छ । यो क्रम बढ्दै गएर उनी पुम्से च्याम्पियनसिप, जुनियर च्याम्पियनसिप र ठुला प्रतियोगितामा छाउन मात्र होइन उत्कृष्ट रेफ्रीको अवार्ड समेत पाउन सफल भए ।

जोर्डनको अम्मानमा सन् २०१९ मा भएको एसियन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री भएका उनी सन् २०२१ मा इस्लामवादमा भएको जी–२ प्रतियोगिता पाकिस्तान ओपनमा पनि उत्कृष्ट रेफ्री भए । 

यो योग्यता र क्षमताको विकास कम मेहनत र परिश्रमले पक्कै भएको होइन । खेलाडी जीवन पछि प्रशिक्षकको रूपमा अघि बढ्ने क्रममा उनले सन् २००५ मा तेक्वान्दो प्रशिक्षक कोर्स पुरा गरेका थिए । कोरियामा सो कोर्स गरेका उनले त्यसै समयमा अन्तर्राष्ट्रिय रेफ्री कोर्स पनि गरे । 

सन् २००७ मा ओलम्पिक सोलीडारिटी कोर्स गरेका उनले सन् २००९ मा आइआर कोर्स पुरा गरे । सन् २०१६ मा उनले चीनमा अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्स गरेका थिए । सन् २०१७ र २०१८ मा सोही कोर्स गरेका उनले २०१८ मा एटीयु पुम्से एजुकेसन लिएका थिए । सन् २०१२ मा उनले काठमाडौँमा स्पोर्ट्स साइन्स सेमिनारमा सहभागिता जनाएका थिए । सन् २०१५ मा उनले एडभान्स स्पोर्ट्स साइन्स कोर्स गरेका थिए । 

उनले स्थापन गरेको कोटेश्वर तेक्वान्दो डोजाङले सफलता पाए पछि सन् २०१३ मा उत्कृष्ट डोजाङ प्रमुख घोषित उनलाई तेक्वान्दो हेड क्वार्टर कुकीवानले सम्मान पत्र प्रदान गरेको थियो । १२ औ र १३ औ दक्षिण एसियाली खेलकुदमा दिलाएको सफलताका कारण अनेकौँ अवार्ड पाएका उनका केही विशेषता पक्कै छन् । 

सत्यको पक्षमा बोल्न नहिचकिचाउने नवीनको वीर बहादुर महराले ओलम्पिक स्कलरसिप बापतको रकम पाएका थिए । मनलागी ढङ्गले ओलम्पिक स्कलरसिप कार्यक्रममा छनोट गर्ने प्रचलनको विरुद्धमा नवीनले नै जोडदार आवाज उठाएका थिए । 

यी यावत विषयमा आवाज उठाए पछि तेक्वान्दो सङ्घसँग उनको दुरी बढेको छ । उनी अहिले एसियाडको प्रशिक्षणमा कुनै भूमिकामा छ छैनन् । तर, सत्यको पक्षमा बोल्न हिचकिचाउने व्यक्तिको रूपमा उनको छवि कायम छ । नेपाली तेक्वान्दोमा थुप्रै स्टार र सेलीब्रेटी भए । परन्तु, खेलाडी रेफ्री, डोजाङ प्रमुख र राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा उत्तिकै सफलता पाउने व्यक्ति नवीन नै हुन् । यसका बाबजुद न्याय र सत्यको पक्षमा बोल्ने एउटा बहादुर व्यक्तिको छवि त छदै छ । 

ओलम्पिकमा छनोट गराउने देखि खस्केको तेक्वान्दोलाई उठाउने सम्म सफलताका यी नायकको भूमिकाका बारे खेलकुद परिषद् नै मौन छ । यसका बाबजुद खेलकुदमा रहेको बेतिथिको विरुद्धमा आवाज उठाउनेका लागि नवीन सधैँ प्रेरणाका श्रोत हुन् । 

उनले तेक्वान्दोमा उठाएका जस्तै विकृति नेपालका धेरे खेलमा छन् । तेक्वान्दोमै पनि अनौपचारिक गन्थनमा विकृतिको विरुद्धमा बोल्ने , सार्वजनिक रूपमा विद्रोह गर्न नसक्ने नाम नभएका होइनन् । यी सबैका लागि नवीन प्रेरणा बनोस् । अनि राष्ट्रिय टोलीको सफल प्रशिक्षक बन्ने पहिलो आधार घरेलु क्लब डोजाङ या डोजोबाट नै हो । 

निर्मल, निरञ्जन, सक्षम कार्की, भुपेन श्रेष्ठ र काजल श्रेष्ठ जस्ता अनेकन् नामले कोटेश्वरको साखलाई त बढाए नै । साथमा नवीनले पनि  नेपाली खेलकुदका एक बहादुर र सम्मान गर्न लायक भएको कुरा बारम्बार पुष्टि गरेका छन् । नवीनको यावत परिचय होला प्रशिक्षक, रेफ्री र खेलाडीको रूपमा । तर,सत्य बोल्न सक्ने बहादुर व्यक्तिकै रूपमा उनले बनाएको परिचय सबैभन्दा महत्त्वपूर्ण छ । ‘वेस्ट मस्ट विन’ खेलकुदको मूल भावना हो । यसका मूल्य र मान्यताको विरुद्धमा आवाज उठाउने हिम्मत अन्य खेलका प्रशिक्षकमा पनि उठोस् । 

केही दिन अघि मात्र नवीनले कोरियामा पुगेर कुकीवानको अन्तर्राष्ट्रिय सेकेन्ड क्लास तेक्वान्दो मास्टर्स कोर्स गरेका थिए । त्यस दौरान पनि उनी उनले आफूलाई  ‘आउटस्ट्यान्डीङ’ साबित गरेका थिए ।  

Comment