एक सयमा १० तथा दुई सयमा १३ सेकेन्ड पछि

Nasir Yahya Hussain swims his event on Sunday at Fistail academy, Pokhara. Photo/Hemanta Shrestha

नाासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको २० औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान राखेको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन् ।

सोमबार भएको २०० मिटर फ्रिस्टाइलमा नासिरले १ मिनट ५७दशमलव२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यस अघि नासिरको नाममा १ मिनट ५८दशमलव२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान ११ औँ एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।

सो स्पर्धामा रोमानीयाका डेभिड पोपोभीकी १ मिनेट ४४ दशमलव ७० सेकेन्डका साथ सेमिफाइनलमा पहिलो स्थान पाए । नासीरको समय भन्दा यो १३ सेकेन्ड कम हो । सो स्पर्धाको फाइनल मंगलबार हुँदै छ । 

महिला तर्फ गौरीकाले पनि राष्ट्रिय कीर्तिमान कायम गरिन् । तथापि त्यो अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा गर्व गर्न लायक होइन । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६ दशमलव ८० सेकेन्ड समयमा दुरी पुरा गरिन् । अध्यक्ष अशोक बज्राचार्यका अनुसार गौरीकाको यस अघिको समय १ मिनट ७ दशमलव ३१ सेकेन्ड समयको रेकर्ड रहेको थियो । उनले उक्त रेकर्ड गोहाटीमा आयोजना भएको १२ औँ दक्षिण एसियाली खेलकुदमा कायम गरेकी थिइन् ।

गौरीकाले राष्ट्रिय कीर्तिमान कायम गरेको स्पर्धामा विश्व कीर्तिमान अस्ट्रेलियाकी केलि म्याककोनको नाममा छ । उनले यसै वर्ष ५७ दशमलव ४५ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन् । 

सोमबार साँझ भएको सेमिफाइनलमा म्याककोनले ५८ दशमलव ४८ यस अघिकी विश्व कीर्तिमान धारी रेगन स्मिथले ५८ दशमलव ३३ सेकेन्डमा दुरी तय गरिन् । मंगलबार हुने फाइनलमा यी दुई विश्व कीर्तिमानको नजिक पुग्ने अपेक्षा गरिएको छ । सेमिफाइनलको उत्कृष्ट समय गौरीकाको भन्दा १० सेकेन्ड कम हो । 

गौरीका बसोबास गर्ने बेलायतकी शीर्ष खेलाडी मेडी हेरिस पनि ५९ दशमलव ६२ सेकेन्ड समयका साथ फाइनल प्रवेश गरिन् । नेपालमा पौडीको भौतिक संरचना विकासमा नेतृत्वले खासै केही गर्न सकेको छैन । जसका लागि सामान्य नेपाली यस खेलमा प्रवेश गर्न नै कठिनाइ उत्पन्न भएको छ । केही धनाढ्य घराना र विदेशमा रहेका त्यहाँका औसत स्तरका खेलाडी नै नेपालमा स्टारको रूपमा स्थापित भएका छन् । वर्षौँ देखि राजधानी केन्द्रित नेतृत्वले ग्रामीण भेगका आम सामान्य नेपालीलाई यस खेलमा लाग्ने वातावरणको सृजना नै गरेको छैन । 

Comment