तेक्वान्दो र नाट्य क्षेत्रमा परिचय बनाउँदै सुप्रिमा

कुनै समय नेपालको परिचित मैत्री तेक्वान्दो डोजाङ्गमा आबद्ध भएर सफलता पाएकी सुप्रिमा सुनुवारका लागि तेक्वान्दो र कला दुवै प्राथमिकताका विषय थिए ।  यी दुवै प्राथमिकताका विषयलाई अघि बढाउन उनका लागि कठिन थियो । 

यस कारण नै ग्रेडिङ गर्दै जाने, रेफ्रीको भूमिकामा पनि अघि बढ्ने नयाँ बाटो उनले तय गरेकी थिइन् । 

सामान्य मोडलिङ र सर्ट मुभीमा सक्रिय उनले चार वर्ष अघि कलाको वास्तविकता बुझ्न थालेकी हुन् । सन् २०१९ मा नगाइएको गीतमा अभिनय गर्दै नाट्य क्षेत्रमा आफूलाई समर्पित गरेकी थिइन् । त्यस पछि कोरोना महामारीका कारण समाजका धेरै कुरा ठप्प भए जस्तै उनको जीवन र पेसालाई पनि ठप्प जस्तै बनाएको थियो । 

हालै उनले अर्को सडक नाटक गरेकी छिन् । एक महिनामा रिहर्सल, दर्शकको अगाडी प्रत्यक्ष प्रस्तुतिका लागि उनी सधैँ तयार हुन्छिन् । नाट्य पात्रलाई बुझेर त्यसै भावमा आफूलाई समाहित गर्न साँच्चै कठिन हो । यसै क्षमता विकास गर्न उनले लामो अभ्यास गरेकी छिन् । थुप्रै नाट्य कक्षामा समावेश भएकी छिन् । अब  चाँडो नै यस क्षेत्रमा अझ माथिल्लो उचाइ छुने उनको विश्वास छ । 

सुप्रिमाको जीवन नै आरोह अवरोहले बितेको छ । बाल्यकाल पनि ललितपुर र रामेछाप गरेर बित्यो । १३ वर्ष अघि उनी तेक्वान्दो सिक्न थालेकी थिइन् । यस बिचमा उनी कला क्षेत्रमा पनि आबद्ध भइन् । तथापि उनी आफू तेक्वान्दोकर्मी भएकोमा नै गर्व गर्छिन् । 

आम नेपालीको झैँ उनको पनि अवस्था सामान्य नै हो । यो सामान्य जीवन यापन र बिहान नियमित प्रशिक्षण नै उनको दिनचर्या थिए, जसरी अहिले कलाको ज्ञान प्राप्त गर्नमा बित्छ ।

उनको नाटकका मूल विषय महिला हिंसा बनेको छ । यसै विषयमा उनले पछिल्लो समय खोटाङको बराह पोखरी गाउँपालिकामा नाटक प्रदर्शन गर्न पुगेकी थिइन् । उनको यो अभियानमा निर्देशक पुर्खा जित राईको भूमिका महत्त्वपूर्ण छदै थियो । 

Comment