नेपाल पुलिसका दुवै टोली फाइनलमा

नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० को फाइनल प्रवेश गरेका छन् ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगको महिला तर्फको आजको अन्तिम खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलको अविजित यात्रा तय गरेको हो । पुलिसले डायमन्डलाई २५–२०, २५–१४, २५–१७ ले पराजित गरेको हो । यस जितका साथ पुलिसले आफ्ना पाँचै खेल जित्दै १५ अङ्कका साथ पहिलो स्थान हात पार्न सफल भयो ।  पुलिसले उपाधिका लागि एपिएफको सामना गर्नेछ । एपिएफ ११ अङ्कका साथ दोस्रो स्थानमा छ ।

आजै सम्पन्न महिलाको दोस्रो खेलमा आर्मीले गण्डकी प्रदेश माथि २५–१८, २५–१२, २५–१५ को सफलता पायो ।  आर्मीको ८ अङ्क भएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको पुरुष तर्फको खेलमा जित्नै पर्ने दबाबका साथ कोर्टमा उत्रेको पुलिसले एपिएफ माथि ३–० को सोझो सेटमा विजय पायो । पुलिसले २५–२२, २५–१३, २५–१५ ले एपिएफलाई हराएको हो । यसका साथ एक खेल हारेको पुलिसको १५ अङ्क भएको छ । पुलिसले फाइनलमा टिपटप हेल्प नेपाल र आर्मी मध्ये एक सँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

पुरुष तर्फकै गण्डकी प्रदेश भलिबल क्लब र दावाँली मिलन क्लबबिच भएको खेलमा गण्डकीले सफलता पायो ।  गण्डकीले दावाँलीलाई २५–२१, २५–१५, २५–१६ ले जित हात पार्दै ३ अङ्क बटुल्यो । यस जितका साथ गण्डकीको ६ अङ्क भएको छ ।

Comment