पुलिसद्वारा आर्मी पराजित

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिससँग पराजित भएको छ ।

चौथो खेल सम्म अपराजित आर्मीलाई बिहीबार सम्पन्न पाँचौँ खेलमा पुलिसले ३–० को सोझो सेटमा पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल भयो । पुलिसले २५–२१, २८–२६, २५–१४ ले आर्मीलाई पराजित गरेको हो । यसका साथ पुलिसको ५ खेलबाट १२ अङ्क भएको छ । पुलिस अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलमा ११ अङ्क भएको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिग खेलको अर्को खेलमा पाँचौँ खेलमा पनि अविजित यात्रालाई कायम राख्दै टिपटप हेल्प नेपाल अङ्क तालिकामा अग्र स्थानमा उक्लिएको छ । निकै नै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा टिपटपले एपिएफलाई ३–२ सेटमा पराजित गर्दै थप २ अङ्क जोड्न सफल भएको हो । हेल्प नेपालले पहिलो सेट २७–२५, २५–१७ ले जितेर खेललाई २–० का साथ आफ्नो पक्षमा पारेको थियो । तर एपिएफले तेस्रो र चौथो सेट २५–२१ २५–२३ ले जित्दै खेललाई २ – २ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक पाँचौँ सेटमा टिपटप हेल्प नेपालले एपिएफको म्याच प्वाइन्ट १४–११ को स्थितिलाई उल्टाउँदै १६–१४ अङ्कका साथ जित हात पारेको हो । यसका साथ टिपटपको पाँच खेलबाट १३ अङ्क भएको छ भने २ सेट जितेर १ अङ्क बटुलेको एपिएफको ११ अङ्क भएको छ । समान अङ्क भएता पनि अङ्क रेसियोका आधारमा एपिएफ आर्मी भन्दा पछाडि रहेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा भने आर्मी र एपिएफले जित हात पारे । आर्मीले एक पक्षीय खेलमा एभरेस्ट भलिबल क्लबलाई २५–१२, २५–१९, २५–१९ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा एपिएफले न्यु डायमन्डमाथि २५–१९, २५–१८, २५–१२ को सफलता पायो । 

महिला तर्फ पुलिस ४ खेलबाट १२ अङ्क, एपिएफ ५ खेलबाट ११ अङ्क, न्यु डायमन्ड ४ खेलबाट ८ अङ्क, आर्मी ४ खेलबाट ५ अङ्क, गण्डकी ४ खेलबाट ३ अङ्क र एभरेस्ट ५ खेलबाट ० अङ्कमा रहेका छन् । अङ्कका आधारमा पुलिस फाइनल प्रवेश गरेको छ ।

Comment