नेपाल पुलिस र टिपटपको लगातार जित

नेपाल पुलिस क्लब र  टिपटप हेल्प नेपालले सातौँ प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको चौथो दिन पनि जित निकालेका छन् ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिग प्रतियोगितामा मंगलबार नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० ले पराजित गरेको छ । पुलिसले २५–२१, २५–१९, २५–१७ को सोझो सेटमा जित हात पारेको हो । पुलिसको ३ खेलबाट ८ अङ्क भएको छ । पुलिसले आफूले खेलेका ३ वटै खेल जिते पनि गण्डकीसँग अङ्क बाडेको थियो ।

यस्तै पुरुष तर्फकै अर्को खेलमा टिपटप हेल्प नेपालले पनि आफ्नो तेस्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लब माथि ३–० को  जित निकालेको छ । हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७, २८–२६ को जित निकालेको हो । यस जितका साथ हेल्प नेपालको ९ अङ्क भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले एभरेस्ट भलिबल क्लबलाई २५–९, २५–१२, २५–११ को सोझो सेटमा पराजित गर्दै थप ३ अङ्क जोडेको छ । एपिएफको ३ खेलबाट ८ अङ्क भएको छ । एपिएफले आर्मीसँग अङ्क बाँडेको थियो ।

यस्तै गरी न्यु डायमन्ड र आर्मीबिच भएको खेलमा न्यु डायमन्डले ३–२ सेटको जित आत्मसाथ ग¥यो । पहिलो र दोस्रो सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो र चौथो सेट १९–२५, २२–२५ ले आर्मीलाई सुम्पन पुग्यो । पाँचौँ तथा अन्तिम सेटमा डायमन्डले १५–९ ले खेललाई आफ्नो पक्षमा पार्दै खातामा थप २ अङ्क जोडेको हो । हारका बाबजुद आर्मीको यो सहित २ अङ्क भएको छ ।

राउन्ड रोविन लिगमा क्लबले प्राप्त गरेको अङ्कको आधारमा पहिलो र दोस्रो स्थान प्राप्त गर्ने टोलीबिच फाइनल स्पर्धा हुने र प्रधानमन्त्री कपको उपाधि प्राप्त गर्ने अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाले जनाएका छन् ।

Comment