आर्मी र एपिएफको लगातार दोस्रो जित

सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौँ प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा लगातार दोस्रो जित निकाल्दै अङ्क तालिकामा समान ६÷६ अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएका छन् ।

आर्मीले दोस्रो दिन दोस्रो जित हात पार्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अङ्कले पराजित गर्दै थप ३ अङ्क जोड्न सफल भएको हो । पहिलो दिनको खेलमा आर्मीले सैलुङ बाघढुङ्गलाई पराजित गरेर ३ अङ्क जोडेको थियो ।

यस्तै एपिएफले पनि आइतबार भएको खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै थप ३ अङ्क जोडेको हो । पहिलो सेट २१–२५ ले गुमाएको एपिएफ खेलमा फर्कँदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो । हिजोको पहिलो खेलमा एपिएफले दावाली मिलन क्लबलाई पराजित गरेको थियो ।

प्रतियोगिताको दाबेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ बाघ ढुङ्गा स्पोर्टस् क्लब, रामेछापलाई ३–० ले पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो । ३ पाकिस्तानी खेलाडी सहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गरेको हो ।

नेपाल भलिबल सङ्घको आयोजनमा भएको लिगको महिला तर्फको खेलमा एपिएफले आर्मीलाई ३–२ सेटले पराजित गर्दै अङ्क बाँड्न बाध्य भयो । सङ्घर्षपूर्ण खेलमा पहिलो र दोस्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेस्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेस्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो । निर्णायक तथा पाँचौँ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै जितलाई आत्मसाथ गरेता पनि आर्मी सँग अङ्क बाँड्न पुग्यो । एपिएफको २ अङ्क र हारका बाबजुद पनि आर्मीको १ अङ्क भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यु डायमन्ड यूथ स्पोर्टस् क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अङ्क जोड्यो । डायमन्डले गण्डकीलाई २५–१७, २५–१६, २५–१५ ले पराजित गरेको हो ।

Comment