ज्ञानोदयलाई उपाधि

त्रियोग हाई स्कुलले आयोजना गरेको प्रथम त्रियोग अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०२३ को पुरुषतर्फको उपाधि ज्ञानोदय बालबालिका स्कुलले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा युरो स्कुललाई ३९–१८ ले पराजित गर्दै उपाधि हासिल गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा ज्ञानोदयका आर्यन धामी, सब्रिन मानन्धर र रिजन अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक समान १०÷१० अङ्कका साथ टोलीलाई जित दिलाए । युरो स्कुलको तर्फबाट भने सुसाध बस्ताकोटी र प्रजेन बस्नेतले समान ६÷६ अङ्कको योगदान दिए । पुरुष समूहमा ज्ञानोदयका यज्ञ साही मोस्ट भ्यालुएबल प्लेयर चुनिए । 

सोही दिन भएको महिला तर्फको फाइनल खेलमा रातो बङ्गला स्कुलले रिब्स स्कुललाई २९–९ ले पराजित गर्दै उपाधि जितेको छ । रातो बङ्गलाकी अन्सु उरावले सर्वाधिक ११ अङ्क र कामाक्षी उपाध्यायले ८ अङ्क जोडिन भने रिब्सका लागि नौसिका लिम्बुले सर्वाधिक ७ अङ्क जोडिन् ।  महिला तर्फ रातो बङ्गलाकी अन्सु उराव मोस्ट भ्यालुएबल प्लेयर चुनिइन् । 

७ दिन चलेको प्रतियोगितामा उपत्यकाका कुल १५ विद्यालयले सहभागिता जनाएका थिए । दुवै समूहतर्फ समान १२ विद्यालयलाई ३÷३ को ४ समूहमा विभाजन गरिएको थियो । नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष भीम सिंह गुरुङले पुरस्कार समारोहको विशेष आतिथ्य ग्रहण गरे । सिंहले कार्यक्रममा विजेताहरूलाई पदक प्रदान गर्नुका साथसाथै यस्ता प्रतियोगिताले राष्ट्रका लागि खेलाडी निर्माणमा टेवा पुगेको बताउँदै आयोजक विद्यालयलाई धन्यवाद दिए । 

Comment