युरो र ज्ञानोदय फाइनलमा

प्रथम त्रियोग अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०२३ मा शुक्रवार सम्पूर्ण सेमिफाइनलका खेलहरू समाप्त भएसँगै रोमाञ्चक फाइनलको समीकरण बनेको छ । पुरुष तर्फको पहिलो सेमिफाइनल खेलमा युरो स्कुलले भ्याली भ्यु स्कुललाई २३–१९ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको अधिकांश समय भ्याली भ्यु अगाडी रहे पनि अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो । भ्याली भ्युका प्राञ्जल खड्काले उत्कृष्ट प्रदर्शन गर्दै १६ अङ्क जोडे तापनि टोलीको हार टार्न सकेनन् । त्यस्तै पुरुष तर्फको दोस्रो सेमिफाइनल खेलमा ज्ञानोदय बालबालिका स्कुलले रातो बङ्गला स्कुललाई ४८–३६ ले पराजित गर्दै फाइनलमा युरो स्कुलसँगको भेट पक्का गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवातमा पछि परेको अवस्थालाई उल्ट्याउँदै ज्ञानोदयले बाजी मार्न सफल भयो । ज्ञानोदयलाई खेलमा फर्काउन रिजन अधिकारीले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा सर्वाधिक १७ अङ्क जोडे ।  

सोही दिन भएको महिला तर्फको पहिलो सेमिफाइनल खेलमा रातो बङ्गला स्कुलले दिक्षालय स्कुललाई १७–११ ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको छ । एकतर्फी बनेको खेलमा रातो बङ्गलालाई जित दिलाउन सोनल अग्रवालले ८ अङ्कको योगदान दिइन । त्यस्तै महिला तर्फको दोस्रो खेलमा रिब्स स्कुलले भक्तपुर निस्टलाई १५–१४ को झिनो अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । अब रिब्सले उपाधिको लागि रातो बङ्गला स्कुलसँग खेल्नेछ । प्रतिस्पर्धात्मक खेलमा रिब्सकी नौसिका लिम्बुले उत्कृष्ट १० अङ्क जोडिन् । दुवै फाइनल खेल असार १० आइतबार खेलिनेछ ।  

Comment