शीर्ष बरीयताका रुपेस र सुजनाको विजयी सुरुवात

नयाँ संरचनामा भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा शीर्ष बरीयताका फिडे मास्टर रुपेस जयसवाल र सुजना लोहनीले विजयी सुरुवात गरेका छन् । राउन्ड रोबीनको आधारमा नौ चरणमा जारी प्रतियोगिताको उद्घाटन खेलमा खुला तर्फ रुपेसले प्रकाश नेपाललाई हराए । यसै गरी दोस्रो बरीयताका क्षितिज भण्डारीले राजन पुरीसँगको खेलमा जित हात पारे । युवा खेलाडी पुरुषोत्तम सिलवालले राजीव कार्कीलाई हराए । राजन सुबेदीले साबिक विजेता पुरुषोत्तम चोलागाइसँगको खेलमा जित हात पारे । सुरवीर लामाले केशव श्रेष्ठलाई हराए । 

महिला तर्फको खेलमा डब्लुएफएम लोहनीले मार्सल तामाङसँगको खेलमा जित हात पारिन् । यसै गरी शान्ति धिमालले सिन्दरा जोशीलाई हराइन् । पूजा भण्डारीले विनीता कपालीसँगको खेलमा सफलात पाइन् भने सुशीला गुरुङले पुनम प्रसाईँलाई हराइन् । रिया श्रेष्ठले लक्ष्मी कणेलसँगको खेलमा जित हात पारिन् । दुवै स्पर्धामा देश भरीबाट छानिएको १० खेलाडीको सहभागिता छ । 

प्रतियोगिताको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाले उद्घाटन गरे । नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्ट प्रालीको संयुक्त आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजक दिब्यांश मल्टी प्रोडक्सन रहेको छ भने सह प्रायोजकमा रुक्मिणी टुर्स एन्ड ट्राभल्स रहेको छ  । यसै गरी, ग्लोबल आइएमइ बैक र वर्ल्ड लिङ्क र नेपाल टेलिकम पनि सह प्रायोजकको रूपमा  रहेका छन् । 

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तिम्सिनाले नेपाली चेस नयाँ चरणमा प्रवेश गरेको बताए । यसै गरी नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष विदुर प्रसाद गौतमले नेपाली  चेस नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै प्रतियोगिता सञ्चालनमा साथ दिने सबै प्रति आभार व्यक्त गरे । 

बुद्धिचालको राष्ट्रिय प्रतियोगिता यस अगाडी स्विस लिगको आधारमा हुने गरेको थियो । पहिलो पटक क्लोज राउन्ड रोबीनको आधारमा भएको हो । साबिक विजेता शीर्ष वरीयता नेसनल बीबाट छनोट भएकाहरूको प्रतियोगितामा सहभागिता छ । 

Comment