पछिल्ला १२ मध्ये ११ खेल जित्दै क्वालीफायरमा

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा युएईमाथि डिएल मेथडमा ९ रनको जित निकाल्दै नेपाल आइसिसी विश्वकप छनोटमा पुगेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डिएल मेथडमा विजयी भएको हो।

आइसिसी लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्ने प्रावधान अनुसार नेपाल विश्वकप छनोटमा पुगेको हो। यसअघि नेपालले अघिल्ला दुई खेलअघि नै एक दिवसीय मान्यता जोगाएको थियो। 

यो पनि पढ्नुहोस्– ’डिएल मेथड’बाट कसरी ९ रनले जित्यो नेपालले?

यो जितसँगै नामिबियालाई पछि पार्दै नेपाल लिग–२ को अङ्क तालिकामा तेस्रो स्थानमा उक्लियो। नेपालले ३६ खेलबाट ४० अङ्क जोड्यो। नामिबियाको ३९ अङ्क मात्र थियो। नेपालको जितले भने नामिबियाले क्वालिफायर प्लेअफ खेल्नुपर्ने भएको छ।

नेपालले लिग–२ का पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्यो। एक महिनामा लिग–२ को अङ्क तालिकाको छैटौँ स्थानमा तेस्रो स्थानमा उक्लिएको नेपालले अघिल्लो महिना १८ अङ्क मात्र  थियो। तर एक महिनाका १२ मध्ये ११ खेल जितेसँगै नेपालले ४० अङ्क जोडेर शानदार पुनरागमन ग¥यो। 

१० टिमबिच आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोटमा लिग–२ बाट स्कटल्यान्ड, ओमान र नेपाल पुगेका छन्। यस्तै आयोजक जिम्बावे र नेदरल्यान्ड्सले पनि छनोट खेल्नेछन्। टेस्ट राष्ट्रले खेल्ने आइसिसी सुपर लिगबाट थप तीन राष्ट्रले विश्वकप छनोट खेल्नु पर्नेछ। 

अहिलेको अवस्थामा सुपर लिगको शीर्ष आठ भित्र नरहेका दक्षिण अफ्रिका, श्रीलङ्का र  वेस्ट इन्डिजले विश्वकप छनोट खेल्नु पर्नेछ। विश्वकप छनोटमा क्वालिफायर प्लेअफमा दुई टिम पनि पुग्नेछन्। यसरी १० टिमबिच हुने छनोटबाट दुई टिम भारतमा अक्टोबरमा हुने विश्वकपमा पुग्नेछन्। विश्वकपमा सुपर लिगमा ८ टिम र विश्वकप छनोटका २ टिम गरी १० टिमबिच प्रतिस्पर्धा हुनेछ। 

बिहीबार कीर्तिपुर मैदानमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको स्थितिमा खेल प्रकाशका कारण रोकिएको थियो। त्यति बेला नेपालका लागि गुलशन झाले नट आउट ५० रन र दीपेन्द्रसिंह ऐरीले १० रन बनाएर खेलिरहेका थिए।

तर अम्पायरले प्रकाशका कारण खेल रोकेपछि खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो। 

हजारौँ दर्शक उर्लिएको कीर्तिपुर मैदानमा नेपालले अहिलेसम्मकै उत्कृष्ट खेल देखायो। युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवातमै दबाब झेले पनि बिस्तारै आफ्नो पक्षमा परेको थियो। चार ब्याट्सम्यानले अर्ध शतक प्रहार गर्दा नेपालले उत्कृष्ट जित निकाल्यो। नेपालका लागि गुलशनसँगै कुशल भुर्तेल, भीम सार्की र आरिफ शेखले अर्ध शतक हिर्काए।

खेलमा नेपालले तेस्रो बलमा आसिफ शेखलाई शून्यमा गुमाएको थियो। तेस्रो ओभरमा कुशल मल्ल ५ रनमै आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो।

त्यसपछि रोहित पौडेल १६ रन जोडेर आउट भए। रोहित सातौँ ओभरको पाँचौँ बलमा आउट हुँदा नेपालले ३ विकेट गुमाउँदा ३७ रन जोडेको थियो। 

त्यसपछि ओपनर कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ उकासे। कुशल ५० रन जोडेर आउट भएका थिए। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कुशलले भीमसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। 

कुशल आउट भएपछि भीमले आरिफ शेखसँग अर्को उत्कृष्ट साझेदारी गरे। भीमले आउट हुनुअघि ६७ रन जोडेका थिए। उनले ७६ बलमा ९ चौका हिर्काए। उनले पाँचौँ विकेटका लागि आरिफसँग ८३ रनको साझेदारी गर्दै नेपालको आसा पलाएको थियो। भीम ३१ ओभरको अन्तिम बलमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोडेको थियो। 

आरिफ शेखले पनि अर्ध शतक बनाएपछि नेपालले बिस्तारै खेल आफ्नो पक्षमा परेको थियो। आरिफले जुनइद खानको एलबिडब्लूको धरापमा पर्नुअघि ५२ रन जोडे। आरिफले ६२ बलमा २ चौका हिर्काए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० रन जोड्यो। 

युएईका लागि सातौँ नम्बरमा ब्याटिङ गरेका आसिफ खानले आक्रामक ब्याटिङ गरे। उनले ४२ बलमा नट आउट १०१ जोडे। 

यस्तै वृत्य अरिवन्दले अन्तिम बलमा आउट हुनुअघि ९४ रन जोडेका थिए। युएईले अन्तिम ७ ओभरमा ११४ रन जोडेको थियो। ४३ ओभरमा दुई रन पूरा गरेको युएईले पछिल्ला ओभरमा उत्कृष्ट ब्याटिङ गरेको थियो। 

नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिए। 

अघिल्ला खेलमा किफायती बलिङ गर्ने गरेका सन्दीप बिहीबार भने महँगो साबित भए। उनले १० ओभरमा ८० रन खर्चिएर १ विकेट लिए। सन्दीपलाई ४९ ओभरमा युएईका आसिफले लगातार चार छक्का प्रहार गरेका थिए।

Comment