नेपाल विश्वकप क्वालीफायरबाट एक खेल टाढा


आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित निकालेको छ ।
नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले अमेरिकालाई सन् २०२० मा ८ विकेटले हराएको थियो। त्रिवि मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
बिहीबार युएईलाई पराजित गरे नेपाल जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ ।
नेपालका लागि विश्वकप छनोटमा पुग्न पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्नुपर्ने अवस्थामा थियो। जसमा नेपालले ११ मध्ये १० खेलमा जित हात पारिसकेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालको जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले नटआउट ५३ रन जोड्ने क्रममा २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले नटआउट १२ रन जोडे ।
त्यसअघि ओपनर कुशल भुर्तेल ३३ रन जोडेर आउट भएका थिए । उनले १४ बलमा ४ चौका र २ छक्का हिर्काए । उनले कबुआ मोरियाको दोस्रो ओभरमा २६ रन प्रहार गरेका थिए ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी सन्दीप लामिछानेले पाँच विकेट लिए पछि ३२ ओभरमा ९५ रनमै अलआउट भयो ।
पिएनजीका ओपनरद्वय किप्लिन डोरिगा २ रन र हिरी हिरी १४ रनमा आउट भए । डोरिगालाई ललित राजवंशीले चौथो ओभरको चौथो बलमा बोल्ड गरेका थिए । हिरी हिरीलाई भने सोमपालले सातौ ओभरमा करण केसीबाट क्याच गराए ।
खराब सुरुवात गरेको पिएनजीले १४ ओभरमा ४९ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

त्यसपछि सेसे बाउ १८ रन, कप्तान आसाद भाला २० रन र चर्ल्स अमिनी १६ रनमा आउट भएका थिए। तीनै जनालाई नेपालका सन्दीप लामिछानेले आउट गरे । बाउ बोल्ड हुँदा भाला र अमिनी क्याच आउट भए । रिली हेकुरेलाई ४ रनमा उ ललितले आउट गरे। नोर्भान भानुआ शून्यमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरीबाट क्याच भए। यस्तै सन्दीपले हिला भारेलाई ९ रनमा बोल्ड गरे। कुशलले काबुआ मोरियालाई पनि १ रनमा आउट गरे। सन्दीपले अन्तिम विकेटको रुपमा सेमो कामिआलाई शून्यमा बोल्ड गरे ।
बलिङमा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए । यस्तै ललित राजवंशी र कुशल मल्लले २–२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे ।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो ।

Comment