बहु आयामिक कराँते व्यक्तित्व मिङमा

नेपाली कराँते आजको स्वरूपमा आइपुग्ने क्रममा थुप्रै कराँतेकर्मीको पसिना सिञ्चित भएको छ । मार्सल आर्ट फिल्मबाट प्रभावित भएर बिना प्रशिक्षक कराँते सिक्न थालेकी मिङमा शेर्पाले २०४५ सालमै कराँते सिक्न सुरु गरेकी हुन् । 

सिन्धुपाल्चोककी उनले २०४८ सालमा भने विधिवत् रूपमा कराँते खेलमा पाइला टेकिन् । त्यस लगभग साढे तीन दशकको मेहनतको प्रतिफल अहिले उनी एकेएफ जज भएकी छिन् । नेपालमा भएको थुप्रै महत्त्वपूर्ण प्रतियोगिता सञ्चालन गरी सकेकी छिन् । नेपाली कराँतेलाई सञ्चालन गर्ने सर्वोच्च निकाय नेपाल कराँते महासङ्घको सदस्य पनि भएकी उनी भोलेन्टियर प्रशिक्षक सङ्घको उपाध्यक्ष पनि भएकी थिइन् ।

उनी सो समयमा ५० केजीमा र खुला तौल समूहमा रजत तथा किक बक्सिङका स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

त्यस पछि पोखरामा भएको दोस्रो राष्ट्रिय कराँते प्रतियोगितामा उनी ५० केजीमा तेस्रो तथा खुला तौल समूहमा दोस्रो भएकी हुन् । सोही प्रतियोगितामा उनी किक बक्सिङ तर्फ पहिलो भएकी थिइन् ।

तेस्रो मध्यपश्चिम कराँते च्याम्पियनसिपमा ५० केजी तौल समूहमा पहिलो भएकी उनी पाल्पामा भएको राष्ट्रिय खेलकुदमा दोस्रो भएको थिइन् । जनकपुरमा भएको अल नेपाल च्याम्पियनसिपमा दोस्रो भएकी उनी सन् १९९५ मा भएको भ्याली च्याम्पियनसिपमा पहिलो भइन् । पहिलो बाग्मती कराँते च्याम्पियनसिपमा उनी दोस्रो भएकी थिइन् । खुकुरी च्याम्पियनसिपको खुला तौल समूहमा उनी पहिलो भएकी हुन् । 

कराँतेमा डिप्लोमा गरेकी उनी चौथो डान हुन् । प्रशिक्षकको रूपमा बाह्बीसे डोजोको मुख्य प्रशिक्षक उनले सन् २०१० मा राष्ट्रिय खेलकुद परिषद्ले लिएको कोर्स पुरा गरेकी थिइन् । 

आनन्द कुटी स्कुल, बागमती बोर्डिङ स्कुल, जगत मन्दिर स्कुल र एक्सेलीयर स्कुल नाग पोखरी लगायत उनी प्रशिक्षकको रूपमा जिम्मेवारी पुरा गरी सकेकी छिन् । हात्तिगौडाको जोसेफ अन्तर्राष्ट्रिय स्कुलले पनि उनको प्रशिक्षण सिपको उपयोग गरेको छ । 

सन् १९९८ मा राष्ट्रिय रेफ्री भएकी उनी सन् २०१२ मा एकेएफ रेफ्री भएकी हुन् । त्यस पछि उनले लगातार रेफ्री र रेफ्री संयोजकको रूपमा महत्त्वपूर्ण प्रतियोगिता सञ्चालन गरी रहेकी छिन् । नेपालको पहिलो अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त रेफ्री मिङमाले बङ्गलादेश, भारत र थाइल्यान्ड लगायत देशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गरी सकेकी छन् । उनले राष्ट्रिय च्याम्पियनसिप तथा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताका छनोट खेलमा रेफ्रीको भूमिका निर्वाह गरी सकेकी छिन् । 

खेलाडी, प्रशिक्षक र व्यवस्थापकको रूपमा सक्रिय उनी कराँते सङ्घ र महासङ्घमा पनि रहेर जिम्मेवारी पुरा गरिसकेकी छिन् । व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने क्रममा उनी काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीकी व्यवस्थापक थिइन् । 

यी कराँते कर्मी साँच्चै बहु आयामिक व्यक्तित्वको रूपमा परिचित छिन् । नेपाल सरकारबाट शिक्षक, प्राथमिक स्वास्थ्य र एंकरिङको प्रशिक्षण लिई सकेकी उनी कलेज तहमा दौडमा समेत अग्रणी थिइन् । यिनले सेल्फ डिफेन्सको प्रशिक्षण दिई रहेकी छिन्।साथमा उनी नेपाल सरकारको लाइसेन्स प्राप्त शिक्षक समेत हुन् ।  यी प्रतिभाशाली व्यक्तित्व व्यक्तित्व मिङमाको आवश्यकता नेपाली कराँतेले अझै महसुस गरेको छ । 

Comment