स्थापनाको छोटो समयमै सफलता तर्फ स्वस्तिक डोजाङ

शिष्य सहित प्रेम 

महालक्ष्मी नगरपालिका –४ मा अवस्थित, खेल प्रशिक्षण केन्द्र स्वस्तिक तेक्वान्दो डोजाङ । स्थापनाको एक वर्ष पनि पुरा भएको छैन । लामो समय साउदी अरेबियाका बिताएका प्रेम दर्नालले नेपाल प्रवेशको लगत्तै तेक्वान्दो खेल प्रतिको भोक र मोहलाई छाड्न सकेनन् । प्रेमको जीवनमा पनि धेरै आरोह र अवरोह आए ।

नेपालमा जल जलाउँदो क्यारियर छाडेर जीवन यापनको सन्दर्भमा साउदी अरेबिया पुगेका प्रेमले त्यहीँ रहेर पनि तेक्वान्दोलाई निरन्तरता दिएका थिए । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई नेपाललाई पदक दिलाएका थिए । नेपाल फर्के पछि प्रेमले गत वैशाख महिनामा यस डोजाङको स्थापना गरेका हुन् । स्थापनाको ११ महिना पनि नबित्दै पाएका सफलता साँच्चै उदाहरणीय छन् ।  

मेयर कप तेक्वान्दो च्याम्पियनसिपमा स्विस्तकका खेलाडी पुरस्कार ग्रहण गर्दै

यसै साता इचंखु नारायण तेक्वान्दो डोजाङले आयोजना गरेको प्रतियोगितामा स्वस्तिकका २ जना सहभागी थिए । सहभागी सुमन तामाङ र बर्सात कणेलले स्वर्ण पदक जिते । यो १० महिनामा अवधिमा स्वस्तिकको पहिलो सफलता भने पक्कै होइन ।

जैशीदेवल यूथ क्लबले गत महिना आयोजना गरेको प्रतियोगितामा स्वस्तिकले पुम्से स्पर्धामा रजत पदक जितेको थियो । प्रदेश स्तरीय मेयर कपमा पाएको त्यो एउटै पदकले पनि प्रेमलाई खुसीयाली दियो । 


पुम्से च्याम्पियनसिपको दौरान स्वस्तिकको टोली

त्यस अघि चुनदेवी तेक्वान्दो डोजाङले आयोजना गरेको जुनियर पुम्से च्याम्पियनसिपमा स्वस्तिकका १२ खेलाडी सहभागी थिए । यी नै मध्येका १० जनाले स्वर्ण पदक जितेका थिए । एक रजत र एक कांस्य पनि सो डोजाङले जितेको थियो । सो प्रतियोगितामा ३ सय ३० जना खेलाडीले सहभागिता जनाएका थिए । 
प्रेम र रमन थापाको प्रशिक्षण जोडीका कारण स्वस्तिकको यो सफलताका कथाले छोटो समयमा नै धेरै फड्को मारेको थियो । 

त्यस भन्दा अघि चुनदेवीले आयोजना गरेको प्रतियोगितामा डोजाङले स्वर्ण २ स्वर्ण र ३ कांस्य पदक पाएको थियो । यस अघि नै ज्ञान सृजना डोजाङले आयोजना गरेको प्रतियोगितामा स्वस्तिकले ४ स्वर्ण र ८ रजत पदक जितेको थियो । यो नै स्वस्तिकको पहिलो प्रतियोगिता थियो । 

प्रशिक्षक प्रेम दर्नाल र रमन थापा

छोटो समयमा प्राप्त यस सफलताले प्रेमलाई आफ्ना शिष्य प्रति विश्वास दिलाएको छ । साथै नेपाली तेक्वान्दोमा केही गर्ने जाँगर पनि बढको छ । स्वस्तिकको सफलतामा प्रेमको दरिलो साथ बनेर प्रशिक्षक रमन थापा उभिएका छन् । 

Comment