नेपालको कीर्तिमानी जित

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको शतकमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित हात पारेको छ । नेपालालई जितका लागि ३ रन मात्र आवश्यक भएको समयमा भुर्तेल आउट भएका थिए । ११५ रन बनाउने क्रममा उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । मङ्गलबार भएको खेलमा नेपाललाई जित दिलाउने क्रममा कप्तान रोहितकुमार पौडेलले उनलाई बलियो साथ दिएका थिए । करण केसीको ५ विकेट नेपाली टोलीको जितको प्रमुख कारण बनेको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलामा कमजोर प्रदर्शन गरिरहेको नेपालका लागि यस जितले धेरै आत्मबल प्रदान गरेको छ । जितसहित नेपाल तालिकाको सातौँ स्थानमा यथावत छ । २५ खेल खेलेको नेपालको २० अङ्क छ । ३१ खेलमा ३७ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ । मङ्गलबार सुरु भएको शृङ्खलाको पहिलो खेलमा नामिबियाले घरेलु टोलीलाई २८६ रनको लक्ष्य दिएको थियो । भुर्तेलको ११५ रनको मदतमा नेपालले ४८औँ ओभरको चौथो बलमा ८ विकेट गुमाएर जित हात पारेको हो ।
नेपालले ओडीआईमा बनाएको २८७ रन अहिलेसम्मकै ठुलो स्कोर हो । नेपालले यसअघि २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य पूरा गर्दै जित हात पारेको थियो । जुनमा अमेरिकाविरुद्ध भएको खेलमा २७५ रनको लक्ष्य पछ्याउँदा स्कोर टाई गरेको थियो । गत वर्ष त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाउँदा पराजित भएको थियो ।
नामिबियासँगको कीर्तिमानी जित हात पारेको खेलमा भुर्तेल र रोहित पौडेलको जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे । ओडीआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठुलो साझेदारी हो । यसअघि दीपेन्द्रसिंह ऐरी र देव खनालले गत वर्ष कीर्तिपुरमै पपुवा न्युगिनीविरुद्ध १२९ रनको साझेदारी गरेका थिए । नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औँ ओभरमा आउट भए । रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबियाविरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडीआईमा हजार रन पूरा गरेका थिए ।

शतक प्रहार गरे पछि भुर्तेल

रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो । ४ वर्षपछि पहिलो पटक ओडीआई खेलेका सन्दीप जोरासँग भुर्तेलले ४९ रनको महŒवपूर्ण साझेदारी गरेपछि नेपालको जित सहज बनेको थियो । यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले माइकल भान लिगेनको शतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनाएको थियो ।

११औँ ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५–२ को अवस्थामा रहेको नामिबियाको पारी भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हाले । दुवैले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे । भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडीआईमा तेस्रो र नेपालविरुद्ध लिग–२ मा लगातार दोस्रो शतक हो । यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग–२ खेलमा उनले नेपालविरुद्ध १२१ रन बनाएका थिए ।
तेस्रो ओभरमै तेस्रो क्रममा क्रिजमा आएका भान लिगेनलाई नेपालका करण केसीले ४७औँ ओभरमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका हुन् । यस्तै कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रिनले १९ बलमा ३४ रन बनाउँदा ४ चौका र १ छक्का प्रहार गरे ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए । बलात्कारको आरोपमा जेल परेर धरौटीमा छुटेका उनी विवादका बीच यस खेलमार्फत मैदान फर्किएका हुन् । उनको मुद्दा अझै विचाराधीन छ । १० ओभर बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । बाँकी २ विकेट भने ४९औँ ओभरको पहिलो र अन्तिम बलमा लिएका थिए । सोमपाल कामीले र कुशल मल्लले १–१ विकेट लिए ।

Comment