नेपालले आशा गर्न सक्ने एउटा प्रतिभा 

कोच नेपाल, आम बालबालिकालाई जीवन रक्षामा आवश्यक पर्ने आधारभूत प्रशिक्षण दिने एउटा संस्था । नेपाली करातेमा स्थापित नाम सिमोन केसी र कुशल श्रेष्ठ सम्मिलित यसै कोच नेपालमा  रातेकै उदीयमान खेलाडी रमिता माझी पनि संलग्न छिन् । मुख्य प्रशिक्षक कुशलको नेतृत्वमा अन्य पाँच जना समावेश छन् । यी सबै कराँते पृष्ठभूमिका हुन् । त्यसो त संस्थाका प्रमुख कार्यकारी सिमोन आफै पनि करातेका खेलाडी हुन् ।
रमिताको नेपाली करातेमा प्रवेशका शृङ्खलामा नै सिमोनको भूमिका थियो । बालुवाटारको चण्डोलमा रहेको न्युटन चिल्ड्रेन सेकेन्डरी स्कुलमा ८ कक्षमा अध्ययनरत रमिता पाँच वर्ष अगाडी वादोरियो करातेका प्रशिक्षक सूर्य राई र सिमोनको सम्पर्कमा पुगेकी थिइन् । त्यहीँबाट उनको कराँते यात्रा सुरु भएको थियो ।
रमिताको महत्त्वपूर्ण सफलता भनेको गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा टिम कुमुतेमा स्वर्ण पदक हो । राष्ट्रिय खेलकुदमा उनी सहितको बागमतीको टोलीले पहिलो चरणमा नेपाल आर्मी, दोस्रो खेलमा सुदूर पश्चिम प्रदेश र फाइनलमा नेपाल पुलिसलाई हराएको थियो ।
रमिताको हकमा टिम कुमुतेको स्पर्धा महत्त्वपूर्ण र यादगार बनेको थियो । नेपाली करातेमा परिचित नाम मिस्ली श्रेष्ठलाई रमिताले राम्रोसँग ‘होल्ड’ गरेका कारण बागमतीको जित सहज भएको थियो । सोनु श्रेष्ठ र रोजी ढुङ्गेलले त्यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
दोस्रो खेलमा सफलता पाएकी उनले फाइनलमा नेपाल पुलिसको सबिना श्रेष्ठसँगको भेटमा पनि  सफलता  पाएकी थिइन् । यस भन्दा अगाडी उनको यात्रा भने अलि फरक छ । सूर्य र सिमोनसँग कराँते सिकी रहेकी उनी सिमोन मार्फत सानो गौचरण डोजोमा आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका विजय लामासँग प्रशिक्षण गर्न पुगेकी थिइन् । त्यहीँ प्रशिक्षण गरी रहेको समयमा विजय बिदेसिएका थिए । नवौँ राष्ट्रिय खेलकुद भन्दा एक वर्ष अगाडी उनी इचङ्गुका सन्तोष चाम्लिङ राई कहाँ प्रशिक्षण गर्न पुगेकी थिइन् । उनको इचङ्गु प्रवेशको कथा पनि रोचक छ । भक्तपुरमा भएको एक प्रतियोगितामा उनको खेल आशातीत कमजोर थियो । सन्तोषले यो देखे पछि आफूकहाँ प्रशिक्षण गर्न बोलाएका थिए । त्यहीबाट उनको बागमतीको प्रतिनिधीत्व गर्दै राष्ट्रिय खेलकुदमा सहभागिताको बाटो खुलेको थियो । गण्डकीको नवौँ राष्ट्रिय खेलकुदको दौरान उनी एकलमा भने पहिलो खेलमा नै नेपाल पुलिसकी अर्मिला डिसीसँग पराजित भएकी थिइन् ।
यस अघि आठौँ राष्ट्रिय खेलकुदको दौरान नुवाकोटमा भएको जिल्ला छनोटमा नै उनी तेस्रो स्थानमा सीमित भएकी थिइन् ।
रमिताको कोच नेपालमा प्रवेश भने उत्साहजनक नै छ । गत असारको समयमा उनका सुरुवाती दिन देखिकै पथ प्रदर्शक सिमोनमार्फत कोच नेपालमा आबद्ध भएकी हुन् । कोच नेपालमा आबद्ध हुने समयमा कुशल श्रेष्ठसँग भीमसेन गोला माविमा गएर कुशल  र पेमा लामासँग प्रशिक्षण लिएकी थिइन् । यस क्रममा उनले सर्भाइभल स्किल पनि लिएकी थिइन् । आधारभूत मेडिकल ज्ञान पनि उनले त्यहीँ लिएकी थिइन् ।
यस पछि रमिता होमिइन्, कोच नेपालको जीवनोपयोगी शिक्षा बाँड्ने अभियानमा । यस क्रममा उनले ३ सय देखि ४ सय बिचमा बाल बच्चालाई प्रशिक्षण दिई सकेकी छिन् ।  उनले गत साता दोलखामा प्रशिक्षण सकेर काठमाडौं आइपुगेकी हुन् । यस प्रशिक्षणले उनलाई आत्मविश्वास त दिलायो नै । साथै जीवनमा अति आधारभूत ज्ञान बाँड्न पाएकोमा खुसी समेत भएकी छिन् ।
आगामी लक्ष्य कराँतेमा स्थापित हुने त भई नै हाल्यो साथमा समाजका आवश्यक ज्ञान बाँड्ने सपना सहित उनी कोच नेपालको यात्रामा पाइला अघि बढाउँदै छिन् । सायद अबको केही वर्षमा उनको सफलताले पक्कै नयाँ उचाइ छुने छ । नेपाली करातेमा पनि र किशोर किशोरीको सुरक्षित जीवन यापनको सवालमा पनि ।
दक्षिण एसियाली र एसियाली च्याम्पियनसिपमा सफलता पाउने सपना साँचेकी रमिता आशालाग्दो प्रतिभा हुन् ।
Comment