छैटौँ राष्ट्रिय महिला भलिबल शनिवारदेखि


छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साबिक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेस्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ । नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ ।
माघ २४ गतेसम्म आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिने खड्काले जानकारी दिए । यसै गरी छैटौँ संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित पनि गरिने भएको छ ।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च लाग्ने अध्यक्ष खड्काले जानकारी दिए । उनले महिला भलिबल खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरूप प्रतिष्ठानले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
केएनपी नेरोलेकसँग सम्झौता
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकसँग मुख्य प्रायोजनको सम्झौता गरेको छ । केएनपी नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौतामा हस्ताक्षर गरे । केएनपी नेरोलेकका कन्ट्री हेड मिश्रले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानसँग सहकार्य गर्दै आएको बताए । उनले प्रतिष्ठानका कार्यक्रमका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य गर्न तत्पर रहेको बताए ।
नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली भलिबललाई व्यावसायिक बनाउने योजना अनुरूप प्रतिष्ठानले काम गर्दै आएको बताए । नेपाली भलिबल व्यावसायिक भएमा त्यसको प्रत्यक्ष फाइदा खेलाडीले पाउने चन्दले बताए ।

Comment