आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङलाई खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि

pokhara volleyballपोखरा
आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङले सातौं खैरेनीटार महोत्सवअन्तर्गत खैरेनीटारमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।
तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार एकाइ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा शनिबार भएको फाइनल खेलमा पञ्चासे आदर्श क्लब कास्कीलाई ३–१ को सेट सेटमा पराजित गर्दै आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङले उपाधि हात पारेको हो। पहिलो सेट २१–२५ ले गुमाएको उसले दोस्रो सेट २५–२२, तेस्रो सेट २५–२० तथा चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।
पहिलो सेटमा कमजोर प्रदर्शन गरेको उसले त्यसपछिका तीनवटै सेटमा विपक्षीका स्पाइक ब्लक गर्नुको साथै कडा स्पाइक र प्लेसिङ खेलेर जीत हात पारेको हो।आँधीखोलाका लागि सञ्जुविक्रम शाह, विक्रम कुँवर, जिमप्रसाद श्रेष्ठ, काजी केसी, रमेश केसीलगायतले उत्कृष्ट प्रदर्शन गरेका थिए।
जीतसँगै आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपाधि विजेता पञ्चासे आदर्श क्लब कास्कीले नगद ३० हजार प्राप्त गर्नेछ।
जीतपछि आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङका वरिष्ठ सल्लाहकार एवं टीमकोच शंकर गुरुङले यसअघि हङकङकमा थुपै्र प्रतियोगिता आयोजना गर्नुको साथै उपाधि पनि जितेको तर नेपालमा विजयको सुरुवात मात्र गरेको प्रतिक्रिया दिए। उनले नेपालमा करिब १४ वर्षअघि क्लबको गठन गरिए पनि बीचमा सुस्तता आएकोेले छिट्टै पुनर्गठन गरिने जानकारी दिए। आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङले बेलाबेलामा नेपालका राष्ट्रिय भलिबल खेलाडी, रेफ्री, कलाकारलाई हङकङ लगेर सम्मान गर्दै आएको छ।
विजेता तथा उपविजेता टीमलाई शनिबार खैरेनीटार महोत्सवको समापनका अवसरमा पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक इश्वर आलेमगरले जानकारी दिए।

Comment