प्रवीण हाप्किडोको मुख्य प्रशिक्षक 

नेपाल हाप्किडो संघले पछिल्लो समय नेपालका विभिन्न जिल्लामा आफूलाई विकसित स्वरूपमा अगाडी बढाउँदै आएको छ । यो फैलँदो स्वरूपमा केन्द्रीय नेतृत्वको भूमिका त महत्त्वपूर्ण छ, साथै जिल्ला तहमा पनि थुप्रै प्रशिक्षकहरूको पनि त्यसै किसिमको सक्रियता देखिएको छ । पछिल्लो समय नुवाकोटमा हाप्किडो खेल विकासको पाइलामा अगाडी बढेको छ ।
राष्ट्रिय प्रतियोगिताको आयोजना, हाप्किडोको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र देशमा हुने राष्ट्रिय प्रतियोगितामा नुवाकोट जिल्लाको उपस्थिति महत्त्वपूर्ण देखिएको छ । यो महत्त्वपूर्ण उपस्थितिमा हाप्किडोका युवा मास्टर प्रवीण गुरुङको भूमिका प्रशंसनीय रहेको छ ।
उनको मेहनतका कारण केन्द्रीय नेतृत्व नै अहिले प्रफुल्लित भएको छ । नेपाल हाप्किडो एसोसिएसन तथा दक्षिण एसियाली हाप्किडो महासङ्घका अध्यक्ष काली बहादुर बहादुर घर्ती मगर समेत प्रवीणको भूमिकाबाट खुसी छन् । घर्ती भन्छन्,‘प्रवीणमा नेपाली हाप्किडोको प्राविधिक पक्षको नेतृत्व गर्ने सम्पूर्ण क्षमता छ । ’  नेपाली हाप्किडोको सम्पूर्ण वातावरण र प्रवीणको क्षमतालाई आधार मानेर नै नेपाल हप्किडोले प्रवीणलाई मुख्य प्रशिक्षक बनाएको छ ।
प्रवीणको नेतृत्वमा नुवाकोटमा करिब ७०० जनाले नियमित प्रशिक्षण गर्ने गरेका छन् । नुवाकोटमा अहिले ९ वटा विद्यालयमा प्रशिक्षण भई रहेको छ । यी बाहेक अर्को एउटा क्लबमा उनले हाप्किडो प्रशिक्षण गराउने गरेका छन् ।
चौथो डान ब्ल्याक बेल्ट प्रवीण एसियाली हाप्किडो च्याम्पियनसिपको कांस्य पदक विजेता हुन् । नुवाकोटमा हाप्किडोको प्रशिक्षण सुरु भएको साता वर्ष भएको छ । यी सात वर्षमा हरके दिन उत्तिकै मेहनत गर्ने प्रवीणकै कारण पछिल्ला केही वर्षहरूमा राष्ट्रिय च्याम्पियनसिपमा नुवाकोटको बलियो उपस्थिति देखिएको छ ।
यसै वर्ष नुवाकोटले छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप तथा उपमेयर कपको आयोजना गरेको थियो । उनकै नेतृत्वमा नुवाकोटले वैशाख महिनामा मेयर कप तथा सातौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको पनि आयोजना गर्ने भएको छ ।
अहिले २४ वर्षका मात्र भएको प्रवीणको कारण नुवाकोटको प्रशिक्षणमा नेपाल हाप्किडो अझ लामो पाइला सार्न सक्षम हुने अनुमान गरिएको छ ।
Comment