लालप्रसाद र इन्द्र क्वाटरफाईनलमा सीमित 

थाइल्यान्डको बैंककस्थित ह्वामार्क इनडोर स्टेडियममा जारी एएसबीसी एसियन यु २२ बक्सिङ च्याम्पियनसिप २०२३ को पुरुष तौल समूहमा १९ बाउट प्रतियोगिताको तेस्रो दिन सम्पन्न भएको छ ।
शनिवार सम्पन्न क्वाटर फाइनल बाउटहरुमा नेपाली मुक्केबाज लाल प्रसाद उप्रेती र इन्द्र बहादुर सुनारले पराजयको सामना गरेका छन् ।
पुरुष ४८ केजी तौल समूहमा लाल प्रसाद उप्रेती फलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग ५ –०ले पराजयको सामना गरे । ५७ केजी तौल समूहमा नेपाली मुक्केबाज इन्द्र बहादुर सुनार मंगोलियन मुक्केबाज गन्तुमार लुन्डासँग आरएसीको आधारमा दोस्रो चरणमा पराजयको सामना गर्नु परेको थियो । सुनारले प्रीक्वार्टरमा लाओसका मुक्केबाजलाई ५–० ले हराएका थिए । सुनारको अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो पटक सहभागिता हो भने लाल प्रसाद उप्रेतीको सहभागिता पहिलो थियो ।
नेपालका अन्य मुक्केबाज सुस्मा तामाङ, हेमा राई र  तृषा जवेगु सेमिफाइनलमा प्रवेश भई सकेका छन् । यसै गरी  ८६ केजी तौल समूहमा पनि नेपाली खेलाडी सेमिफाइनलमा प्रवेश गरी सकेका छन् ।
एएसबीसी एसियन यु –२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाओस्, मलेसिया, मङ्गोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलङ्का, ताजिकिस्तान, आयोजक थाइल्यान्ड, उज्बेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।
Comment