डायमन्डलाई हराउँदै पुलिस र आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

 

 

नेपाल पुलिस क्लब  साबिक विजेता होङग्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै महिला तर्फ सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियन बन्न सफल भएको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट डायमन्डले २५–२२ ले जित्यो । दोस्रो सेटमा खेलमा फर्कँदै पुलिसले २५–१७ ले खेललाई आफ्नो पक्षमा पार्दै १–१ को बराबरीमा ल्यायो । यस्तै तेस्रो सेट निकै नै सङ्घर्षका साथ डायमन्डले २७–२५ ले आफ्नो पक्षमा पारेको हो ।  चौथो सेट पुन पुलिसले २५–१९ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक खेलमा पुलिसले १५–११ ले जित्दै सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको हो । पहिलो संस्करणमा च्याम्पियन बनेको पुलिसले दोस्रो पटक च्याम्पियन बन्न लामो समय कुर्नु परेको थियो । पुलिसले नगद ४ लाख रुपैया पायो भने उपविजेता डायमन्डले २ लाख रुपैया पायो ।
यस्तै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा साबिक उपविजेता एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा पराजित गर्दै तेस्रो हुन सफल भएको हो । पहिलो दुई सेट २५–१६ र २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफ तेस्रो र चौथो सेट २१–२५, २१–२५ ले आर्मीलाई सुम्पन पुग्यो । अन्तिम तथा निर्णायक सेटमा १७–७ को जित निकाल्दै एपिएफ तेस्रो हुन सफल भयो । एपिएफले नगद १ लाख रुपैया पायो ।
नेपाल भलिबल सङ्घको आयोजनमा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ टिपटप हेल्प नेपालले सातौँ संस्करणको उपाधि उचालेको छ । पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिप उपाधि जितेको हो । हेल्प नेपालले आर्मी माथि २५–२१, २६–२४ र २५–२३ को सोझो  सेटमा पराजित गरेको हो ।
यस्तै एपिएफ नेपाल पुलिस क्लबमाथि ३–२ को जित निकाल्दै च्याम्पियनसिपमा तेस्रो भयो । एपिएफ १५–२५, २५–२०, २५–२३, २५–१८ ले पुलिसलाई पछाडि धकेल्दै तेस्रो भएको हो । पुलिसले नगद १ लाख रुपैया पायो ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा महिला तर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुष तर्फ टिपटप हेल्प नेपालका मुवासर राजा घोषित भए ।

च्याम्पियनसिपमा उत्कृष्ट सेटरमा महिला तर्फ पुलिसकी कमला पुन र पुरुष तर्फ आर्मीका हरि हजुर थापा भए । यस्तै डिफेन्स तर्फ न्यु डायमन्डकी सलिना श्रेष्ठ र टिपटप हेल्प नेपालका दीपक थापा रहे । सर्भर तर्फ महिलामा आर्मीकी सङ्गम महतो र पुरुष तर्फ टिपटप हेल्प नेपालका मुवासर राजा रहे । यस्तै वेस्ट ब्लकरमा महिला तर्फ एपिएफकी कविता भट्ट र पुरुष तर्फ नेपाल पुलिस क्लबका नवीन नगरकोटी रहे । वेस्ट स्पाईकरमा महिला तर्फ न्यु डायमन्डकी प्रतिभा माली र पुरुष तर्फ आर्मीका धन बहादुर भट्ट रहे । वेस्ट कोचमा महिला तर्फ नेपाल पुलिसका रुपेश विष्ट र पुरुष तर्फ टिपटप हेल्प नेपालका उत्सव खड्का रहे ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि नेपाल सरकारका  मन्त्री दामोदर भण्डारी, सांसद जीवन परियार लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment