साबिक विजेता न्यु डायमन्ड र आर्मी उपाधि नजिक

साबिक विजेता होङग्वान्जी न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लब महिला तर्फ र त्रिभुवन आर्मी क्लब पुरुष तर्फ सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा उपाधि नजिक पुगेका छन् ।  सम्पन्न सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले पराजित गर्दै डायमन्ड फाइनल प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने क्रममा डायमन्डले पहिलो सेट १७–२५ ले आर्मीलाई सुम्पन पुग्यो । पहिलो सेट हारेको डायमन्ड खेलमा फर्कँदै लगातार तीन सेटलाई आफ्नो पक्षमा पार्दै फाइनल प्रवेश गरेको हो । डायमन्डले आर्मी माथि २५–१९, २५–१६, २५–१८ को जित निकाल्न सफल भएको हो । अव उपाधि रक्षा गर्ने क्रममा डायमन्डले विभागीय टोली नेपाल पुलिसको सामना गर्ने भएको छ । एउटै समूहमा रहेको पुलिस सँग समूह चरणको खेलमा डायमन्ड पराजित हुँदै उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।
यस्तै नेपाल पुलिस क्लब र साबिक उपविजेता एपिएफ बिच भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले निकै नै सङ्घर्षपूर्ण जित निकाल्यो । पहिलो सेट २५–१५ ले जितेको पुलिस दोस्रो र तेस्रो सेट १७–२५ र २१–२५ ले गुमाउन पुग्यो । त्यस पछि आफ्नो खेलमा सुधार गर्दै पुलिस खेलमा फर्कियो । पुलिसले चौथो सेट २५–२१ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक सेटमा १५–७ ले एपिएफलाई पछाडि पार्दै पुलिस फाइनल प्रवेश गरेको हो ।
नेपाल भलिबल सङ्घको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा साबिक विजेता आर्मी क्लब फाइनल प्रवेश गरेको छ । आर्मीले फाइनल प्रवेश गर्ने क्रममा एपिएफमाथि २५–२३, २५–१७, २५–१७ को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
पुरुष तर्फको दोस्रो खेलमा पाकिस्तानी खेलाडीले सज्जित टिपटप हेल्प नेपालले निकै नै सङ्घर्षपूर्ण खेलमा जित निकाल्दै उपाधिका लागि आर्मीसँगको भेट पक्का गरेको हो । पहिलो सेट २५–२१ ले जितेको हेल्प नेपाल दोस्रो सेट २४–२६ ले पुलिसलाई सुम्पन पुग्यो । तेस्रो सेट पुन २५–१७ ले आफ्नो पक्षमा पार्न सफल हेल्प नेपाल चौथो सेट फेरी २०–२५ ले पुलिसलाई दिन बाध्य भयो । अन्तिम तथा निर्णायक खेलमा १५–८ को जित निकाल्दै हेल्प नेपाल फाइनल प्रवेश गर्न सफल भएको हो ।

Comment