नेपाली सुटिङको भद्रगोल अवस्था

नेपालमा सुटिङ खेलको खस्कँदो अवस्थाका बारे खेलाडीहरूमा आक्रोश बढेको छ । १३ औ दक्षिण एसियाली खेलकुद पछि हालसम्म सुटिङ खेलको प्रशिक्षण नै हुने गरेको छैन । सातदोबाटोको सुटिङ रेन्जमा एक जना मात्र खेलाडीको प्रशिक्षण जारी छ ।
सुटिङको समस्या यत्तिमा छैन । दर्जनौँ समस्याका माझ सुटिङ सङ्घ अल्झिरहेको छ । एक खेलाडी भन्छन्, ‘ सङ्घ एकलौटी कब्जा गर्ने उद्देश्यले जिल्ला सुटिङ संघले विधान माग गर्दा समेत दिने गरेको छैन ।’
वार्षिक क्यालेन्डर समेत नभएको सुटिङको कुनै पनि प्रतियोगिताको दौरान हुने अस्तव्यस्त हुने गरेको छ । नवौँ राष्ट्रिय खेलकुदमा समेत हतियार अभावको बिच प्रतियोगिता सम्पन्न भएको थियो । महत्त्वपूर्ण प्रतियोगितामा समेत योग्यताको कुनै आधार छैन । ‘ सुटिङ जस्तो जिम्मेवार खेलमा समेत योग्यता नपुगेको व्यक्ति सहभागी हुने भएकाले दुर्घटनाको जोखिम समेत बढेको छ ’ नाम नबताउने सर्तमा एक खेलाडी भन्छन् ।
नवौँ राष्ट्रिय खेलकुदको सन्दर्भमा क्याम्पको भत्ता र छनोट समयको भत्तामा पनि आशङ्का रहेको एक खेलाडी बताउँछन् ।
नेपाली सुटिङले ओलम्पिक खेलकुद भन्दा बाहेक सुटिङका प्रतियोगितामा विरलै सहभागिता जनाउने गरेको छ । सङ्घ नेतृत्वले खेलाडीको बारे कुनै चासो नदिएको गुनासो छ । खेलाडीको बिचमा समेत भेदभाव भएको बताउँदै बाग्मती प्रदेशका केही खेलाडीले बताएका छन् ।
जिल्ला सङ्घमा समेत आफ्ना निकट व्यक्ति मात्र छानेर राख्ने गरेको आरोप धेरै खेलाडीको छ । सङ्घका महासचिव त्रिलोचन श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुदको समयमा सङ्घमा असन्तुष्टि रहेको भन्दै राजीनामा दिएका छन् । त्यस राजीनामाको बारे समेत कुनै टुङ्गो लागेको छैन ।
कत्तिसम्म भने वैदेशिक प्रतियोगितामा सहभागिताका लागि पारदर्शी शैली अपनाइएको छैन । साथै छनोटको आधार समेत तय छैन । सङ्घ नेतृत्वले गरेको यो मनोमानीका कारण धेरै खेलाडी आजित छन् । नयाँ सुटिङ रेन्ज तयार भएको एक वर्ष भन्दा बढी समय भए पनि यसको हिसाब सार्वजनिक भएको छैन भने प्रशिक्षण पनि भएको छैन ।
Comment