न्यु डाइमण्ड अन्तिम चारमा

साबिक विजेता होङग्वान्जी न्यु डाइमण्ड यूथ स्पोर्ट्स क्लब सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । महिला तर्फ समूह ए को आज भएको खेलमा न्यु डाइमण्डले एभेरष्ट भलिबल क्लब माथि २५–७, २५–१० र २५–१२ को सहज जित निकाल्दै ६ अङ्कका साथ सेमिफाइनलमा स्थान बनाएको हो । यस अघि डाइमण्डले नयाँ बजार सामाजिक यूथ क्लबमाथि जित निकाल्दै ३ अङ्क जोडेको थियो । यस समूहबाट नेपाल पुलिस क्लबले पनि अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । अव न्यु डाइमण्ड र पुलिस बिचको खेलले समूह विजेताको टुङ्गो लाग्ने छ ।
आजै भएको महिला तर्फको अर्को खेलमा एपीएफले विजयी सुरुवात गरेको छ । एपीएफले गण्डकी प्रदेशलाई ३ – ० को जित निकाल्दै ३ अङ्क जोडेको छ । एपीएफले गण्डकी माथि २५–१५, २५–१० र २५–११ अङ्कको जित निकालेको हो ।
नेपाल भलिबल सङ्घको आयोजनामा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई २५–१२, २५–२० र २५–११ ले पराजित गर्दै ६ अङ्कका साथ अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भएको छ । यस अघि पुलिसले न्युटन भलिबल क्लबलाई पराजित गर्दै ३ अङ्क जोडेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको पुरुषकै अर्को खेलमा भारतीय खेलाडी सम्मिलित दावाँली मिलन क्लबले आफ्नो दोस्रो खेलमा मणि मुकुन्द भलिबल क्लबलाई ३–१ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । दावाँलीले मणि मुकुन्दलाई २१–२५, २५–२१, २५–२२ र २५–२३ ले पराजित गरेको हो । समूह ए मा रहेको दाँवाली पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सँग पराजित भएको थियो । यस समूहबाट आर्मी पहिले नै अन्तिम ८ मा स्थान बनाउन सफल भइसकेको छ ।
यस्तै अर्को पुरुष तर्फकै खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ । गण्डकीले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाएको न्युटन भलिबल क्लबलाई २५–१२, २५–१७ र २५–२२ ले पराजित गर्दै ३ अङ्क जोडेको छ ।
यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुनमा आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि ८ पुरुष र ६ महिला क्लब छनौट हुने छन् ।
Comment