पुलिसको विजयी अभियान जारी

नेपाल पुलिस क्लबले सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला तर्फ विजयी अभियानलाई जारी राखेको छ । पहिलो दिन नयाँ बजार सामाजिक यूथ क्लबमाथि जित हात पार्दै ३ अङ्क जोडेको पुलिसले दोस्रो दिन पनि एभरेस्ट भलिबल क्लब माथि जित निकाल्दै विजयी अभियानलाई निरन्तरता दिएको हो । समूह ए मा रहेको पुलिसले एभरेस्टलाई २५–१४, २५–९ र २५–६ को सहज जित निकाल्दै आफ्नो खातामा ६ अङ्क जोडेको छ ।
यसै समूहमा रहेको साबिक विजेता होङग्वान्जी न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लबले नयाँ बजार सामाजिक यूथ क्लबलाई ३–० सेटमा पराजित गर्दै आफ्नो खातामा महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ । न्यु डायमन्डले नयाँबजारमाथी २५–२, २५–८ र २५–६ को सहज जित निकालेको हो ।
नेपाल भलिबल सङ्घको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा टिप टप हेल्प नेपाल भलिबल क्लबले जित हात पारेको छ । हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई २५–१६, २५–१९ र २५–१६ को सहज सेटमा पराजित गर्दै ३ अङ्क प्राप्त गर्न सफल भएको हो । यस्तै पुरुषको अर्को खेलमा बागमती प्रदेशको केशवलाल स्मृति प्रतिष्ठानले मधेस प्रदेशलाई २५–२१, २५–२३, २९–२७ र २५–१७ ले पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको छ ।
आजै भएको अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मणि मुकुन्द भलिबल क्लबलाई पराजित गर्दै आफूलाई अङ्क तालिकाको अग्रस्थानमा राखेको छ । आर्मीले मणि मुकुन्दलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै थप ३ अङ्क जोडेको हो । यस अघि च्याम्पियनसिपको पहिलो दिन भएको खेलमा पनि सेनाले दावाली मिलन केन्द्रलाई पराजित गर्दै ३ अङ्क जोडेको थियो । यो सँगै सेनाको ६ अङ्क भएको छ ।

Comment