‘खेलकुद क्षेत्रमा खेलकुदकै आइडोलोजीको मात्र महत्त्व हुन्छ ’

एकेन्द्र कुँवर राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य । मिलनसार स्वभावका कुँवरको विशेषता हो कि उनी हरेक सदस्य सचिवसँग उत्तिकै समन्वय कायम गरेर काम गर्न सक्छन् । तीनै कुँवरसँग खेलकुद न्यूजडटकमले गरेको कुराकानीको सार संक्षेप 
तपाईँले केशव विष्ट, रमेश सिलवाल र टङ्कलाल घिसिङसँग मिलेर काम गर्नु भयो । यसरी सबैसँग मिलेर काम गर्नुको विशेषता के होला ?
म परिषद्का आउँदा आफ्नो कामको बारेमा ध्यान दिन्छु । म सुरुमा केशव विष्टको  कार्यकालमा बोर्ड सदस्य थिए । यस पछिका दुई कार्यकाल कार्यकारी सदस्य भएको हुँ । खेलकुद विकासका लागि जोसँग पनि समन्वय गरेर अगाडी बढ्नु पर्छ भन्ने मलाई लाग्छ । । राजनीतिक विचारको कुरा आफ्ना हुन्छन् । तर, खेलकुद क्षेत्रमा खेलकुदकै आइडोलोजी र फिलोसोपीका लागि हामी समर्पित हुने हो ।
मेरो यसै स्वभावका कारण सबै टिममा मिल्न सकेको हुँ । म माथि गरिएको आशा र विश्वास अनुसार काम गर्न  म दत्तचित्त भए । यसै कारण पाएको अवसरलाई मैले सही ढङ्गले उपयोग गर्न र जिम्मेवारी पुरा गर्न पनि सफल भएको छु ।
खेलकुद क्षेत्र त आर्थिक अनियमितका कारण धेरै नै आलोचित  छ नि । आर्थिक अनुशासनलाई कठोरतापूर्वक पालना गर्ने तपाईँलाई काम गर्न अप्ठेरो परेन ?
हरेक क्षेत्रमा राम्रा र नराम्रा पक्ष हुन्छन् । नेपालमा त यो समस्या झन् विकराल छ । तर, धेरै कुरा आफैमा निर्भर रहने हो ।
म विगतमा धेरै सङ्घ संस्थामा बसेर काम गरेँ । हरेक जिम्मेवारी पाउँदा म यस कुरामा सचेत र चनाखो पनि भएँ । म मात्र होइन मसँग एउटै टिममा रहेर काम गरेका साथीहरू पनि आर्थिक अनियमितमा फस्नु भएको छैन ।
तपाईँलाई त सामाजिक सद्भाव भएको मान्छे भन्ने परिचय छ ।  के के प्रमुख काम गर्नु भएको छ ? 
कोभिड १९ को महामारी चलेको समयमा मैले धेरैलाई सहयोग गरेको छु । मैले यस समयमा सक्दो सहयोग गरेको हुँ ।
काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता एक खेलाडी आर्थिक अभावका कारण म्यादी प्रहरीमा आबद्ध भएको समाचार मैले पाए । हामीले २ लाख रुपैयाँ केही दिनमा उनलाई हस्तान्तरण गर्दै छौ । अन्य प्रतियोगिता लगायत कुरामा गर्ने सहयोग त आफ्नो ठाउँमा छदै छ ।
म एनआरएनको खेलकुद सल्लाहकारको रूपमा पनि रहेँ । राष्ट्रिय खेलकुदमा एनआरएनलाई एउटा विभागको रूपमा उपस्थित गराउन मेरो पनि भूमिका रहेको छ । तर, प्रसङ्गवश तपाईँले कुरा उठाउनु भएर मैले यो कुरा गरेको हुँ । अन्यथा सहयोगका विषय समाचारका लागि हुन् भन्ने मलाई लाग्दैन ।
गण्डकीमा भएको राष्ट्रिय खेलकुद महोत्सवमा तपाइले पाएको जिम्मेवारी र काममा पूर्ण सन्तुष्ट हुनु हुन्छ ? 
हामीले सफलता पूर्वक सम्पन्न गरेका छौ । पहिलो त हामीलाई सफलतापूर्वक सम्पन्न गर्नमा गण्डकी प्रदेश खेलकुद मन्त्री राजीव गुरुङको भूमिका अत्यन्त सहनीय रहेको पाएँ । अन्य समाचारमा आएका विषय जस्तो हाम्रो विषयमा कुनै मनमुटाब देखिएको थिएन ।
त्यहाँका काँग्रेस, माओवादी केन्द्र र नेकपा एमाले लगायत राजनीतिक दलका अधिकारीको पनि सहयोगी भूमिका पाएँ । राष्ट्रिय खेलकुद परिषद्का सबै साथीहरूको भूमिका राम्रो रह्यो । यस कारण हामीले सानदार ढङ्गले सफलता पाएका छौ ।
एकातर्फ राजनीति र अर्को तर्फ व्यवसाय ।  अनि खेल गतिविधि सबै कुरा समन्वय गर्न कसरी भ्याउनु भएको छ त ? 
मैले समय व्यवस्थापन गरेको छु । मलाई के लाग्छ भने व्यवसायमा सरिक भएका कारण मेले राजनीतिक जिम्मेवारी पाएको स्थानमा आर्थिक लोभ लालच राख्नु परेको छैन ।
म वैदेशिक रोजगारको सवालमा विदेशमा पनि बसेँ । नेपाल र विदेशमा रहेर पार्टी सङ्गठनको काम पनि गरे । २०५३ सालमा रवीन्द्र अधिकारी सभापति भएकै टिममा म त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववायु सदस्यमा सबै भन्दा धेरै मत पाएर विजयी भएको थिएँ । २०४८ देखि हालसम्म अछाम –१ मा निर्वाचन परिचालन कमिटीको नेतृत्व गर्ने अवसर पाएको छु । एमाले खेलकुद विभागको उपाध्यक्ष छु ।
यस पटकको निर्वाचनमा मेरो नाम समानुपातिक तर्फ खेलकुद विभागले पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो । तर, मलाई प्रत्यक्षमा नै निर्वाचित हुने चाहना जागेको छ । यस कारण म अहिले केही पन्छिएको हुँ ।
व्यवसायीले राजनीति गर्नु हुँदैन भन्ने होइन । उदाहरणका लागि डोनाल्ड ट्रम्प देखि संसारका परिचित राजनीतिक अनुहार हेर्ने हो भने धेरै व्यापारी नै छन् ।
तपाइका भावी लक्ष्य ? 
मेरो लक्ष्य भनेको राजनीति मार्फत समाजसेवामा सक्रिय रहने हो । खेलकुदमा सम्भव भएसम्म सही काम गर्ने मेरो सोच हो । राजनीतिमा सायद अव को निर्वाचनको समयमा म प्रत्यक्ष उम्मेदवारको रूपमा अगाडी आउँछु । सायद यो लामो पृष्ठभूमि पछि निर्वाचित प्रतिनिधिको रूपमा काम गर्ने अवसर पाउँछु नै होला ।
Comment