विवाद समाधान कमिटीबाट तेक्वान्दो विवादको अन्त्य 

नेपाली तेक्वान्दोमा दीपराज युगको अन्त्य भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मङ्गलवार प्रकाश शमशेर राणा अध्यक्ष तथा गुरुङ महासचिव रहेको नेपाल तेक्वान्दो सङ्घ विघटन गर्दै प्रदीप जोशीको अध्यक्षता तदर्थ कमिटी गठन गर्ने अन्तिम तयारी गरेको छ ।
परिषद् उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा गठित राष्ट्रिय सङ्घ विवाद समाधान समितिको सिफारिसको आधारमा अस्तित्वमा रहेका तेक्वान्दोका दुवै सङ्घको दर्ता खारेज गर्दै जोशीको अध्यक्षमा  तदर्थ कमिटी गठन गरिएको हो ।
जोशी तीनै तेक्वान्दोकर्मी हुन् जसले २ दशक अगाडी नै मूलधारमा विद्रोह गर्दै अखिल नेपाल तेक्वान्दो सङ्घ( एन्टा)को घोषणा गरेका थिए ।
विद्रोही स्वभावका प्रदीपले  २०४२ सालमा तत्कालीन खेलकुद परिषद्का सदस्यसचिव शरद चन्द्र शाहको विरुद्धमा विद्रोह गरेका थिए । तत्कालीन समयको राजनीतिक परिबेसका कारण उनले ४ वर्ष भारतमा बिताएका थिए ।
नेपाल तेक्वान्दो सङ्घमा लामो समय देखि अध्यक्ष भन्दा बढी महासचिव दीपराज गुरुङको भूमिका प्रभावशाली मानिन्थ्यो । अध्यक्षलाई ‘ सेरोमोनियल ’ रूपमा मुख्य प्रशिक्षक र महासचिवको रूपमा प्रभाव जमाउने दीपराज गुरुङले २०७० सालमा मुख्य प्रशिक्षक छाडे पछि ध्रुव गुरुङ मुख्य प्रशिक्षक भएका थिए ।
भारतमा भएको १२ औ दक्षिण एसियाली खेलकुदमा टोलीको प्रशिक्षणको जिम्मेवारी ध्रुवले सम्हालेका थिए भने सिङ्गो प्रतियोगिताको रेफ्री प्यानलको नेतृत्व दीपराज गुरुङले गरेका थिए ।
आफूलाई असफल बनाउन रेफ्री प्यानललाई नेपालको विरुद्धमा दुरुपयोग गर्दै  नेपाली तेक्वान्दो माथि नै दीपराजले ठुलो घात गरेको आरोप ध्रुवले लगाउन थाले पछि यी २ बिच विवाद बढेको हो ।
यस पछि ध्रुव नेपाली तेक्वान्दोको मूलधारबाट छायामा पारिएका थिए । त्यस पछि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका नवीन कुमार श्रेष्ठको पनि दीपराजसँग लामो समय सुमधुर सम्बन्ध रहेन । काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाली तेक्वान्दोले १२ स्वर्ण पदक जिते पछि नेपाली खेलकुदका पर्दा पछाडिका बेजोड नायकको रूपमा स्थापित भएका  थिए ।
साग स्वर्ण पदक विजेता नेपाली तेक्वान्दोको स्टार वीर बहादुर महराले ओलम्पिक स्कलरसिप अन्तरगतको रकम  नपाएको आरोप श्रेष्ठले लगाए पछि सङ्घ नेतृत्वसँग मुख्य प्रशिक्षकको दुरी बढेको थियो ।
ओलम्पिकमा छनोट भएका सँगिना वैद्य र दीपक विष्टको भत्ता काटे पछि वैद्य र विष्ट विद्रोहमा नउत्रे  पनि सङ्घ नेतृत्वसँग टाढाको दुरी राखेका थिए ।
बाग्मती प्रदेश खेलकुदले आयोजना गरेको प्रदेश खेलकुद महोत्सवमा सम्पूर्ण अधिकार सङ्घलाई दिए मात्र प्रतियोगितामा सहकार्य गर्ने अडान सङ्घले राखेको थियो । यो सँगै तेक्वान्दो सङ्घ र बाग्मती प्रदेश खेलकुद परिषद् बिचको सम्बन्ध कटु भएको थियो ।
हाल विदेशमा रहेका दिवाकर डान महर्जन, लव गोर्खाली, राज कुमार राई ,अमिर श्रेष्ठ र सरोज गुरुङ लगायत एउटा ठुलो जत्था  लामो समय देखि सङ्घ नेतृत्वमा रहेको थियो । यो समूहले नेपालमा नेतृत्वले सही काम गर्न नदिएको आरोप लगाउँदै आएको थियो ।
तत्कालीन सदस्य सचिव रमेश सिलवालको नगर्न निर्देशन बाबजुद २०७७ सालमा सङ्घको निर्वाचन भएको थियो । तेक्वान्दोका वरिष्ठ प्रशिक्षक अर्जुन बिक र मीन थापा मात्र होइन वर्तमान मुख्य प्रशिक्षक सङ्घ नेतृत्वको विरुद्धमा रहेका थिए ।
गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा सङ्घ नेतृत्वलाई पार गर्दै मुख्य प्रशिक्षक श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता आयोजक कमिटी गठन भएको थियो । सो प्रतियोगितामा पनि सङ्घको भूमिका सकारात्मक थिएन ।
 मुख्य प्रशिक्षक श्रेष्ठले सङ्घ नेतृत्वले आफूलाई जिम्मेवारी पुरा गर्न अवरोध सृजना गरेको आरोप लगाउँदै विना कुनै बाधा अवरोध प्रशिक्षण सुचारु गराउन राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्दै आएका थिए ।
सङ्घले मुख्य प्रशिक्षक श्रेष्ठलाई बेवास्ता गर्दै आफ्नो अनुकूल प्रशिक्षण गराउन थाले पछि यसले खेलाडीका असन्तुष्टि पैदा गरेको थियो । १ दर्जन भन्दा राष्ट्रिय खेलाडी यस बिचमा नेपाल छाडेर बिदेसिएका थिए ।
गत साग खेलमा क्यारोगीमा नवीन आफै संस्थापक रहेको कोटेश्वर डोजाङका ५ खेलाडीले स्वर्ण पदक जितेका थिए । तीनै मध्यका भुपेन श्रेष्ठ, र सक्षम कार्की अहिले बिदेसिएका छन् ।  प्रशिक्षणमा अवरोध गर्नुका साथै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता नगराएको तथा ओलम्पिक स्कलर सिपमा नातावाद राखेका कारण राष्ट्रिय टोलीका १ दर्जन खेलाडी बाहिरिएका थिए । साग स्वर्ण पदकधारी सङ्गीता बस्याल र पार्वती गुरुङ पनि बिदेसिए । बिदेसिने क्रम यत्तिमा रोकिएन , पछिल्लो दशक नेपाली तेक्वान्दोमा सानदार उपस्थिति जनाएकी निमा गुरुङ बिदेसिने खेलाडीको कोटीमा थपिएकी छिन् । मनोज मल्ल, ज्ञानेन्द्र हमाल,  सञ्जिला तीमल्सीना,  किरण आले, अप्सरा कार्की,  मनिता शाही र  निश्चल मान श्रेष्ठ पनि बिदेसिएका हुन् ।
Comment