दुर्घटनामा प्याराग्लाइडिङ खेलाडीको निधन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ ।
आइतबार बिहान उडानको केही समयपछि नै उनी दुर्घटनामा परेका हुन ्। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षीय निशिमले पोखराको सराङकोटबाट उडान भरेका थिए ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो’, एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘उनी सोझै पोखरा–१८ सराङकोटस्थित निर्माणाधीन भवनमा खसेका थिए।’
बिहान झन्डै साढे दश बजेको समयमा उनी करिब १०० मिटरको उचाइबाट खसेका थिए । ग्लाइडर नखुलेर वा हावाको उल्टो बहावका कारण उनी जमिनमा बजारिएको अनुमान छ ।
लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा महानगरपालिका–१० हस्पिटल चोकमा बस्दै आएका थिए । उनको घर भने गोरखाको पालुङटार नगरपालिका हो । उनी प्याराग्लाइडिङ खेलाडीहरूको छाता संस्था एफएआईका ‘कम्पिटिशन वरीयता’ प्राप्त खेलाडी समेत हुन् ।
दुर्घटनालगत्तै उद्धार गरेर उनलाई उपचारका लागि पोखराको सृजना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिए पछि आइतबार मध्याह्न चिकित्सकले मृत घोषणा गरेका हुन् । थापाको शवलाई अहिले भने पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
उनको निधनसँगै प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ ।

Comment