डाउन हिलमा सेनालाई स्वर्ण


गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शनिबार पोखरामा भएको साइक्लिङको डाउन हिल विधामा पुरुष र महिला दुवैमा नेपाल आर्मीका खेलाडी स्वर्ण जितेका छन् । पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउन हिल १ मिनेट ४९.१० सेकेन्डमा पुरा गर्दै विजेता बन्दै स्वर्ण पदक जितेका छन् । त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेन्डमा दुरी पुरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेन्डमा उक्त दुरी पुरा गरी कांस्य पदक जित्न सफल भएका छन् ।
यता महिलातर्फ पनि सोही दुरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन् । रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन् । खनालले २ मिनेट ३७.४५ सेकेन्डमा दुरी पुरा गरेकी थिइन् । त्यस्तै २ मिनेट ४०.०९ सेकेन्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कांस्य पदक जित्न सफल भइन् ।
शनिबार भएको साइक्लिङको डाउन हिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १÷१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १÷१ कांस्य पदक जित्न सफल भए ।
सात प्रदेश र तीन विभागीय गरी दश क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ ।आइतबार पोखराको ड्याम साइड नजिक रानीवनको ट्र्याकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका ७ इभेन्ट सम्पन्न भएका छन् ।
Comment