एपिएफ र सुदूरपश्चिमको पहिलो जित

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपिएफले पहिलो जित निकालेका छन् । पोखरामा भएको खेलमा एपिएफले बागमतीमाथि चार विकेटको जित हात पार्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो ।
पोखराको क्रिकेट रङ्गशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अश्मिना कर्माचार्यले नट आउट १९ रनको योगदान गरिन् ।
त्यस्तै सुमन खतिवडाले १९ रन बनाउँदा बागमतीका अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बागमतीलाई सस्तैमा समेट्न एपीएफकी रेखा रावल, नेरि थापा र इन्दु वर्माले समान एक एक विकेट लिँदा अन्य चार खेलाडी रन आउट भएका थिए । ९० रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले चार बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो । एपिएफलाई जित दिलाउन रोमा थापाले सर्वाधिक २२ रनको योगदान दिइन् । त्यस्तै एपिएफकी कप्तान सीता राना मगरले १६, ममता चौधरीले १७ , इन्दु बर्माले ५ रन बनाउँदा ओपनर ज्योति पाण्डे एक रनमै पभेलियन फर्किएकी थिइन् । एपिएफकी नेरि थापा १६ तथा राजमती ऐरी चार रनमा अविजित रहे ।
बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले दुई दुई विकेट लिँदा अस्मिनाले एक विकेट लिइन् । खेलको उमन अफ दि म्याच एपिएफकी नेरि थापा भएकी छिन् ।
दिनको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान सृष्टि जैशीले सर्वाधिक अविजित २८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामीले एक एक विकेट लिए । ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५८ बल बाँकी छँदै चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुदूरका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रन बनाउँदा स्नेहा महरा २१ रनमा अविजित रहिन् । गण्डकीकी शिला क्षेत्रीले दुई तथा सृष्टि जैशीले एक विकेट लिइन् । खेलको उमन अफ दि म्याच सुदूरपश्चिमकी ऋतु कनोजिया भएकी हुन् । सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग आठ विकेटले पराजित भएको थियो ।
पुरुष सावरमा राजेन्द्रलाई स्वर्ण
एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङ अन्तरगतको सावर विधामा एपिएफका लागि स्वर्ण जितेका छन् । उनले थोरै अङ्कको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अङ्कले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन् । एपिएफका खेम खत्री र सेनाका रघु वीर चन्द संयुक्त तेस्रो हुँदै कांस्य पदक प्राप्त गरे ।
इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोस्रो स्वर्ण जोडे । ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन् । ओमकारले रामलाई १५–१४ अङ्कले पराजित गर्दै स्वर्ण जितेका हुन् । तेस्रो स्थानमा सेनाका मीन कार्की र गण्डकीका विजय अधिकारी रहे ।
फ्वलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भइन् । उनले एपिएफकी मनीषा राईलाई १५–१४ अङ्कले पराजित गर्दै स्वर्णको हकदार बनिन् । एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कांस्यमा चित्त बुझाए ।
नवौँ राष्ट्रिय प्रतियोगितामा फेन्सिङमा ६ स्वर्णका छिनोफानो भएको छ भने समग्रमा ७ स्वर्ण पदकको छिनोफानो भएको छ । पुरुष क्रिकेटमा नेपाल पुलिसले पहिलो स्वर्ण जितेको थियो ।
ह्यान्डबलमा गण्डकीको जित
नवौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत महिला ह्यान्डबलमा गण्डकी प्रदेशले मंगलबार दोस्रो दिन जित निकालेको छ । गण्डकीकी योगिता गुरुङको ७ गोलको मद्दतले सुदूरपश्चिमलाई २७–४ गोल अन्तरले पराजित गर्न सफल भयो । पोखरा बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगितामा कर्णाली प्रदेश र प्रदेश नं. १ ले पनि जित निकाले । कर्णालीले मधेस प्रदेशलाई ११–७ गोल अन्तरले पराजित ग¥यो । कर्णालीकी अञ्जलि शाही र सङ्गीता सिंहले समान ५ गोल गरे । प्रदेश नं. १ की प्रेक्षा कटुवालको ८ गोल मद्दतले बागमतीलाई २४–८ ले पराजित गरेको हो ।
पुरुष तर्फ बागमती र लुम्बिनीले जित निकाले । बागमतीका सोनाम राकेश शेर्पाको ५ गोल मद्दतमा मधेस प्रदेशलाई २१–१३ गोल अन्तरले र लुम्बिनीले प्रदेश नं. १ लाई २९–२४ ले पराजित गरेको हो । लुम्बिनीका शरण थापाले आफ्नो टोलीका लागि १५ गोल गरे ।
वाणिज्य बैङ्क र राखेपविच सम्झौता
नेपालको अग्रणी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क र राष्ट्रिय खेलकुद परिषद् बिच प्रायोजन सम्बन्धी सम्झौता भएको छ । नवौँ राष्ट्रिय प्रतियोगितालाई मध्यनजर राख्दै वाणिज्य बैङ्कले प्रायोजन सम्झौता गरेको हो । सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैङ्कका महाप्रबन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले हस्ताक्षर गरे । वाणिज्य बैङ्कले नवौँ राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगो सहित विभिन्न विज्ञापन गर्न पाउनेछ । जसमा खेल स्थलमा होडिङ बोर्ड, स्टल, ब्यानर लगायत विज्ञापनका सामाग्रीहरू प्रयोग गर्न पाउने छ भने विभिन्न प्रतियोगितामा पुरस्कार वितरणमा प्रमुख अतिथिको रूपमा सम्मान प्रदान गरिने छ ।
यस सम्झौता पश्चात् राष्ट्रिय वाणिज्य बैङ्क र राष्ट्रिय खेलकुद परिषद् बिच आगामी दिनमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन सम्बन्धी यात्रालाई निरन्तरता प्रदान गर्ने सहमति भएको छ । विगत लामो समय देखि खेलकुदका विभिन्न खेललाई प्रायोजन गर्दै आइरहेको वाणिज्य बैङ्कले नवौँ राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो प्रायोजन सम्बन्धी अग्रसरतालाई कायम गर्दै प्रायोजन गरेको छ ।
अन्तिम तयारी सम्बन्धी उपसमितिको बैठक
नवौँ राष्ट्रिय खेलकुद सम्बन्धी विभिन्न उपसमितिको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा मंगलबार पोखरामा बैठक बस्यो । उपसमितिका संयोजक र सचिवहरूले नवौँ राष्ट्रिय खेलकुदलाई पूर्ण रूपमा सफल बनाउन आआफ्नो तर्फबाट भए गरेका प्रगति विवरणका प्रस्तुत गर्नुका साथै आउन सक्ने समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको थियो ।
सदस्य सचिव घिसिङले उपसमितिका सदस्यहरूलाई एक जुट भएर नवौँ राष्ट्रिय खेलकुद सफल पार्न निर्देशन दिएका थिए ।
Comment