मधेस प्रदेशको विजयी सुरुवात

गण्डकी प्रदेशको पोखरामा नवौँ राष्ट्रिय प्रतियोगिता अन्तरगतको महिला २०–२० क्रिकेटमा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । ११ औँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेसले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै समूह ए मा महत्त्वपूर्ण २ अङ्क जोड्न सफल भएको छ ।
उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा आठ विकेटको क्षतीमा ७७ रन जोडेको थियो । मधेसका लागि शान्ति चौधरीले सर्वाधिक १५ रन जोडिन । अविजित रहेकी उनले २७ बलको सामना गर्दै उक्त रन जोडेकी थिइन् । यस्तै साना प्रवीणले १४ बलको सामना गर्दै १ चौकाको मद्दतले १४ रन र अलिशा यादवले २२ बलमा एक चौकको मद्दतले १४ रननै जोड्न सफल भइन् । यस्तै अन्य खेलाडीहरूमा रोजी कडारी ९, सरस्वती कुमारी र सन्तोषी चौधरीले समान ८ रन र गोमा आलेले १ रन जोडिन् । गण्डकीका लागि आकृति तिवारीले ३ विकेट, कुसुम गोदारले २ विकेट, सृष्टि जैसी र शिला क्षत्रीले समान १ विकेट लिए ।
७८ रनको लक्ष लिएर मैदान प्रवेश गरेको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमा समेटिन पुग्यो । शिला क्षत्रीले टिमका लागि १० रन जोड्नु बाहेक अरू खेलाडीले दोहोरा अङ्क जोड्न सकेनन् । सृजना पौडेल ७ रन, कप्तान जोत्सीका मरासिनी ५, कप्तान सृष्टि जैशीले ३ रन, अञ्जलि विश्वकर्मा र सिमाना के.सी.ले समान २ रन जोडे । मधेसकी ओमेन अफ दि म्याच अनुराधा चौधरीले ४ ओभर बलिङ गर्दै १ मेडनका साथ ८ रन दिँदै ४ विकेट लिइन् । यस्तै कविता गौतम र शान्ति चौधरीले समान २ विकेट र सन्तोषी चौधरीले १ विकेट लिन सफल भए ।
 समूह ए के दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै महत्त्वपूर्ण २ अङ्क जोड्न सफल भयो । ७१ रनको लक्ष पछ्याएको बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतीमा लक्ष भेटाएको हो । बागमतीले ७२ जोड्यो । कञ्चन श्रेष्ठले ४४ बलको सामना गर्दै २५ रन जोड्न सफल भइन् । उनी रन आउट भइन् । यस्तै सुमन खतिवडा ११ रन, अस्मिता खरेल ९ रन र आरती विडारी नकआउट ३ रन जोड्न सफल भए । सुदूरपश्चिमका यासु पाण्डेले १ विकेट लिइन्  ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको बागमतीले सुदूरपश्चिमलाई ७१ रनमा रोक्न सफल भएको थियो । सुदूरपश्चिमकी अनु कडायतले सर्वाधिक २२ रन जोडिन् । उनले २३ बलको सामना गर्दै २ चौक प्रहार गरिन् । रुवी पोदारले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । यशु पाण्डेले ७, विन्दु रावल र स्नेहा महराले समान ५, रितु कनौजियाले ३ र डली भट्टले २ रन जोडे । बागमतीले अतिरिक्त १५ रन दिएको थियो ।
बागमतीकी ओमेन अफ दि म्याच सोनी पाख्रिनले ५ विकेट लिइन् । उनले आफ्नो स्पेलमा १३ रन दिइन् । यस्तै खुसी डङ्गोलले २ र अस्मिता खरेलले १ विकेट लिए ।
Comment